काठमाण्डौं । काठमाण्डौं महानगरपालिका यातायात व्यवसायी महासङ्घ र तीन वटा यातायात मजदुर सङ्गठनहरूबिच काठमाण्डौं चक्रपथ आसपासका टिकट काउन्टरहरू व्यवस्थापन गर्ने बारे सहमति भएपछि विभिन्न स्थानमा देखिएको झडपको सम्भावना तत्काललाई टरेको छ ।
साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै महानगरले कोटेश्वर, कलङ्की, गौशाला लगायतका चोकहरूमा माइकिङ गरेर महानगर प्रहरीहरू काउन्टरमा पुगेपछि महानगर प्रहरी र यातायात मजदुरहरूबिच द्वन्द्वको अवस्था आएको थियो ।
झडपको अवस्था सृजना भएपछि तत्काल टिकट काउन्टर नहटाउन भन्दै सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले संयुक्त विज्ञप्ति जारी गरेको थियो ।
मङ्गलवार बिहान गौशाला र कोटेश्वरमा महानगर प्रहरी र मजदुरहरूबिच विवाद भएको थियो । विवाद चर्किएर आन्दोलन हुने अवस्था आएपछि मङ्गलवार अपराह्न महानगरले छलफलमा बोलाएको थियो ।
महानगर सँगको छलफलमा काठमाण्डौं महानगरको नेतृत्वमा सङ्गठनहरू सम्मिलित कार्यदलले गत वर्ष तयार गरेको मापदण्ड मध्ये टिकट काउन्टर कोठाको आकारलाई व्यवहारिक कायम गर्दै उक्त मापदण्डलाई नै प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ ।
साउन २० गतेसम्म मापदण्ड अनुसार चक्रपथ आसपासका सबै बुकिङ कार्यालय व्यवस्थित गरिसक्ने, साउन १० गतेदेखि बुकिङ कार्यालयहरूको अनुगमन र मापदण्डबारे सचेत गराउनका लागि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको संयोजकत्वमा महासङ्घका अध्यक्ष र तीनवटै सङ्गठनका अध्यक्षहरू रहेको उच्च स्तरीय कार्यदल गठन भएको छ । त्यस्तै सहमतिमा मापदण्डलाई सबै पक्षले इमानदार कार्यान्वयन गर्न प्रतिबद्ध जनाउने र मापदण्ड पालना नगर्ने कम्पनीहरूलाई साउन २१ गतेदेखि नियमानुसार गर्ने सहमति भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको समन्वयमा भएको छलफलमा काठमाण्डौं महानगरका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी र नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी लगायतका नेतृत्वको उपस्थिति रहेको थियो ।
महानगरले सरोकारवालासँग समन्वय नगरी असार २७ गते मिडियाबाजी गर्दै माइकिङ गरी काउन्टरहरू हटाउन भनेपछि सङ्गठनहरू रुष्ट बनेको थियो । सङ्गठनहरूले जबरजस्ती गरिए तीनवटै ट्रेड युनियनहरूको अगुवाइमा आन्दोलन हुने चेतावनी दिइएको थियो ।
Discussion about this post