धरान । बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३ औं संस्करण आजदेखि धरान रंगशालामा हुदैछ । उद्घाटन खेलमा धरान फुटबल क्लब र युकेएफसि भारत भिड्दैछन् । धरानका स्थानीय खेलाडीलाई मात्रै टिममा राखेर धरान फुटबल क्लब यस पटकको गोल्डकप खेल्दैछ । यस पटक सुरुज सुनुवार, रोमन लिम्बू, दोर्जे तामाङ, विष्णु सुनुवार, विवेक राई, वर्तमान राई, विनोद राई लगायतले धरान फुटबल क्लबबाट खेल्दैछन् ।
प्रशिक्षक सागर घिमिरेले यस पटक धरानका स्थानीय खेलाडीले गोल्डकपको उपाधी जित्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो –‘यस पटक युवा जोशले भरिएको टिम छ, २३ औं संस्करणमा उपाधी घरमै राख्ने हाम्रो एकमात्र ध्यान छ, विश्वास छ यसपटक हामी उपाधी जित्छौं ।’
यसपटक धरान फुटबल क्लबले आहा रारा गोल्डकपमा आयोजकलाई १–० ले पराजित गरेको थियो भने सेमिफाइनलमा सशस्त्रसँग २–० ले पराजित भएको थियो । बर्दिबास मेयर गोल्डकपको फाइनलमा पुगेको धरान फुटबल क्लब फाइनलमा अफ्रिकन क्लबसँग पराजित भएको थियो ।
भारतको युकेएफसि पनि सम्पूर्ण तयारीका साथ गोल्डकपको उपाधी जित्ने लक्ष्य सहित धरान आएको छ । २२ औं संस्करणमा धरान फुटबल क्लब युकेएफसिसँगै पहिलो खेलमा नै पराजित भएको थियो ।
प्रतियोगितामा केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, युनाइटेड खार्साङ फुटबल क्लब, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब सहभागी रहनेछ ।
प्रतियोगिता यही फागुन १३ गतेदेखि २० गतेसम्म धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग वियरले मुख्य प्रायोजना गरेको छ ।
Discussion about this post