सुन्दरहरैचा । मोरङको सुुन्दरहरैंचा ७ गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि प्रयोगात्मक अभ्यास कोशी अस्पतालमा गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो । पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि प्रयोगात्मक अभ्यास कोशी अस्पतालमा गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधि सभा सदस्य डा।सुनिल शर्माले जानकारी दिए । अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने उनले जानकारी दिए ।
सम्झौतापत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् । ०७८ माघ २४ गते विराटनगरस्थित कोशी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति भएको थियो । सहमतिको एक वर्षपछि ०७९ माघ २३ गतेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय र कोशी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो । अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रक्रिया पूरा हुनेछन् ।
मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने प्रावधान रहेको तर पूर्वाञ्चल विश्वविद्यालयसँग सो क्षमताको अस्पताल नभएपछि विराटनगरस्थित कोशी अस्पतालमा अभ्यास गर्ने गरी सम्झौता गरिएको हो । विद्यार्थीको पढाई भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुने भएको छ ।
Discussion about this post