विराटनगर । प्रदेश १ लाई ‘कोशी’ नामकरण गरिएकोमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादी संगठनहरुले आज विराटनगरमा आज प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले प्रदेशसभा भवनभन्दा अलि वरपर प्रदर्शन गर्दै कोशी नाम खारेजीको माग गरेका छन् ।
प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनपछि सभा आयोजना गरी नाम खारेजी गरिनुपर्ने, पहिचानमा आधारित नाम राखिनुपर्नेलगायत मागसहित विभिन्न नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
सभामा माओवादी नेता गोपाल किराती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने समितिले जनाएको छ ।
प्रदर्शनका क्रममा तनाव उत्पन्न हुन सक्ने अवस्थालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हिजो विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकिएको हो ।
चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
Discussion about this post