विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनका क्रममा आज झडप भएको छ ।
प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिलेमहेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।
नारा जुलुससहित प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न हवाई फायर समेत गरेको थियो ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै विभिन्न समूहले विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रदेश १ लाई ‘कोशी’ नामकरण गरिएकोमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादी संगठनहरुले नामकरण भएकै दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनकारीले कोशी नाम खारेजी गरिनुपर्ने, पहिचानमा आधारित नाम राखिनुपर्ने लगायत माग राखेका छन् ।
प्रदर्शनका क्रममा तनाव उत्पन्न हुन सक्ने अवस्थालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले हिजो विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकिएको हो ।
चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
Discussion about this post