काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताएका छन् ।
बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिकाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाले आर्थिक रुपमा देशलाई चलायमान बनाउन ठूलो योगदान पुग्ने उनले बताए ।
वैदेशिक रोजगारदाताहरू कोषमा आवद्ध हुन पाउँदा समेत उनीहरुलाई राज्य भएको महशुस पुग्ने विश्वास व्यक्त गरे ।
वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेको ढकालको भनाइ छ ।
विदेशमा श्रमिकहरुले रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलायमान भएकाले सरकारले यस्ता योजना ल्याउनु स्वागतयोग्य रहेको उनले उल्लेख गरे ।
रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको ढकालले बताए ।
Discussion about this post