टीका खतिवडा
इलाम । नयाँ वर्षको अवसरमा चैत २४ देखि प्रथम सन्दकपुर महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बैशाख १० गतेसम्म महोत्सव हुने भएको हो ।
महोत्सवमा स्थानीय कृषि उत्पादनदेखि साँस्कृतिक एवम् खेलकुदका कायक्रम गरिने प्रथम सन्दकपुर महोत्सव मूल आयोजक समितिका अध्यक्ष जीवन शिवाले जानकारी दिए ।
उनका अनुसार महोत्सवकै अवसरमा २४ गतेदेखि देउराली बजारमा सन्दकपुर गोल्डकप आमन्त्रित फुटवल प्रतियोगिता हुने छ ।
महोत्सवमा सन्दकपुर गाउँपालिका बाहिरका एकलाख पर्यटक भित्रियाउने लक्ष लिइएको छ । महोत्सवमा ११ किसिमका कार्यक्रम समावेश गरिनेसमितिका सचिव रुपेन नेम्वाङले जानकारी दिए । फुटबल, म्याराथन, लेण्डरोभर यात्रा, साँस्कृतिक कार्यक्रम, साइक्लिङ तथा पर्यटकीय क्षेत्र प्रचारका गतिविधि गरिने छ ।
महोत्सवमा बालन नाच, संगिनी नाच, कौडा नाच, हुर्रा नाच लगायत जातीय झाँकी समेत समेत समावेश गरिएको छ ।
एउटा पालिकाको प्रयासले एकिकृत विकास हुन नसक्ने भएपछि अन्तरपालिका समेत समन्वय गरेर काम अगाडि बढाउन महोत्सव फलदायी बन्ने गाउँपालिकाका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।
उनले सन्दकपुर गाउँपालिकाले यसको थालनी समेत गरेको बताएका छन् । सीमा जोडिएका पालिकासँग समेत समन्वय गरेर अगाडि बढे मात्र दिगो विकास हुने भएकाले आफुहरु त्यसतर्फ समेत अगाडी बढ्ने उनको भनाई छ ।
महोत्सव सफल बनाउन ४३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै ११ बिधामा अन्य बिषयगत समिति निर्माण गरिएको छ । वडास्तरीय उपसमिति गठन गरेर प्रत्येक वडामा कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा २० लाख खर्च लाग्ने अनुमान गरिएको छ । फुटवल प्रतियोगिता नियमित कार्यक्रमअन्तर्गत नै रहेको र म्याराथन नयाँ कार्यक्रम भएकाले सो खर्चमा समावेश नगरिएको बताइएको छ । महोत्सवका लागि संघीय र प्रदेश पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, निर्माण ब्यवसायी, बिभिन्न संघसंस्थाबाट सहयोग संकलन गरिने बताइएको छ ।
सन्दकपुर गाउँपालिकामा विश्व रामसार क्षेत्रमा सूचीकृत माइपोखरी, जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको सन्दकपुर, ढाप पोखरी, अग्लो टोड्के झरना समेटिएका छन् ।
महोत्सव अवधिभर घुम्न चाहाने पर्यटकलाई गाउँपालिकाका बिभिन्न पर्यटकीय स्थलमा पुर्याउन १० वटा लेण्डरोभर तयारी अवस्थामा राखिने बताइएको छ ।
Discussion about this post