काठमाडौं । बर्दियासँग जोडिएको भारतको बहराइच जिल्लाको मूर्तिहा नाका एकतर्फी रुपमा सोमबारदेखि बन्द गरिएको छ । कतरनियाघाट वन्यजन्तु आरक्षअन्तर्गत वनका डीएफओ आकाश द्वीपको निर्देशनमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको हो ।
सीमा नाकाबाट कसैलाई आउजाउ गर्न दिइएको छैन । वनका कर्मचारीले एसएसबी क्याम्पभन्दा केही परबाटै गुलरिया र भारत आउने जाने यात्रुलाई फर्काएको स्थानीयले जनाएका छन् ।
एकतर्फी रुपमा सीमा नाका बन्द गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको गुलरिया नगरपालिका ६ का वडाध्यक्ष मनोजकुमार यादवले प्रतिक्रिया दिए । आवश्यक कामका लागि भारत गएर फर्केका यात्रु घना जंगलमा अलपत्र परेको जानकारी आएकाले तत्काल सीमानाका खोल्नुपर्ने उनले जनाए ।
भारतीय वन क्षेत्रको धर्मापुरमा अज्ञात समूहले दुईवटा रुख काटेको विषयलाई लिएर वनका कर्मचारीले एकतर्फी रुपमा नाका बन्द गरेको सुरक्षा स्रोतले बतायो । भारतीय वनका अधिकारीले नेपालीले रुख काटेर लगेको दाबी गरेको छ ।
उसले ती नेपालीमाथि कारबाही नभएसम्म नाका नखोल्ने बताएको छ । यस सम्बन्धमा कतरनियाका डीएफओ आकाश द्वीपसँग सम्पर्क राख्दा हुन सकेन । एसएसबीले भने आउजाउमा कुनै रोक नलगाए पनि वनका कर्मचारीले आफूखुसी सीमामा आउजाउ गर्न दिएका छैनन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले एकतर्फी रुपमा नाका बन्द गरेको जानकारी पाएपछि समकक्षीसँग यसबारे जानकारी लिने काम भइरहेको जानकारी दिए । नाका बन्द गर्दा दुवै मुलुकको सहमति हुनुपर्नेमा एकतर्फी गर्न नमिल्ने रिसालको भनाइ छ ।
Discussion about this post