काठमाडौं : वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित नेपाललाई सोमबार आईसीयूमा राखिएको थियो । नर्भिक अस्पताल थापाथलीमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो ।
उनको मंगलबार नै हिन्दू प्ररम्पराअनुसार पशुपतिमा अन्तिम संस्कार गरिएको छ । नेपालको अन्तिम इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम राखिएन । पार्टीका नेताको निधनपछि पार्टी झन्डा ओढाउने र श्रद्धाञ्जली कार्यक्रम दिने परम्परा नेपालको हकमा लागू गरिएन ।
नेपालका भाइ समीर नेपालका अनुसार दिवंगत दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिएको हो । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन् । जसमा झन्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ ।
२०५१ सालमा बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनी सञ्चारमन्त्री रहेका थिए । राजनीतिक विश्लेषकसमेत रहेका उनी पञ्चायतकालमा ‘सञ्जय थापा’को नाममा लेख लेख्ने साहित्यकार पनि थिए
नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का नेतासमेत रहेका नेपालको परिवारकै आग्रहअनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जनाएका छन् । ‘परिवारकै आग्रहअनुसार श्रद्धाञ्जलीका कुनै कार्यक्रम राखिएको छैन,’ कार्यालय सचिव अधिकारीले भने, ‘पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ ।’
नेता नेपाल कोअर्डिनेसन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका थिए । उनी पाँच दशकबढी समय कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए ।
नेता नेपाल पटकपटक मन्त्री भएका थिए । उनी एमालेका संस्थापक नेता पनि थिए । स्वास्थ्य समस्याका कारण पछिल्लो एक दशक भने उनी राजनीतिबाट टाढा थिए । तत्कालीन नेकपाकालमा नेपाल स्थायी कमिटी सदस्य थिए । अदालतको आदेशपश्चात एमाले र माओवादी केन्द्र ब्युँतिएपछि उनी एमालेमै थिए । तर, उनी एमालेमा पनि सक्रिय भने भएनन् ।
२०५१ सालमा बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनी सञ्चारमन्त्री रहेका थिए । नेपाल राजनीतिक विश्लेषक पनि हुन् । पञ्चायतकालमा सञ्जय थापाको नाममा लेख लेख्ने नेपाल साहित्यकार पनि हुन् ।
८ पुस २०१० मा भोजपुरको पोखरे गाउँमा जन्मेका नेता नेपालले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको सुरुवात गरेका थिए । सानैदेखि विद्रोही स्वभावका उनी त्रिचन्द्र कलेजमा अध्ययन गर्दैगर्दा विद्यार्थी राजनीतितर्फ आकर्षित भएका थिए । २०२६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएपछि उनी वामपन्थी विचारधारासँग जोडिएका थिए ।
नेकपा मालेका संस्थापकमध्ये एक नेपाल पनि हुन् । ११ पुस २०३५ मा नेकपा माले गठन भएको थियो । त्यसअघि झापा विद्रोहका अन्य नेतासँगै जेल परेका बन्दीहरू २०३३ साल जेल ब्रेक गरेर निस्किएका थिए । जेल ब्रेक गर्ने १५ नेतामध्ये एक नेपाल पनि थिए ।
उनले लामो समय एमालेको प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । प्रवक्ता, साहित्यकार एवं लेखरचना लेखिराख्ने नेपालको सञ्चारकर्मीसँगको सम्बन्ध पनि राम्रो मानिन्छ । कुशल संगठक एवं प्रस्ट वक्ताका रूपमा चिनिएका नेपाल २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा (एकीकृत समाजवादी)को नेता पनि भए । तर, सो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) छाडेको भन्दै एमालेकै सदस्यता नवीकरण गरेका थिए । उनी स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा भने रहेनन् ।
आठौं महाधिवेशनमा केपी शर्मा ओली प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका नेपाल ईश्वर पोखरेलसँग पराजित भएका थिए । नवौं महाधिवेशनमा ओली समूहबाटै उपाध्यक्षमा उम्मेदवारी दिएर पुनः पराजित भएका थिए ।
उनी राजनीतिसँगै साहित्यमा पनि लामो समय सक्रिय रहेका थिए । पञ्चायतको निरंकुश शासनविरुद्ध सक्रियताले उनलाई राजनीतिक नेताका रूपमा स्थापित गर्यो । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
नेपालको साहित्यिक नाम सञ्जय थापा हो । उनले सञ्जय थापाका नाममा प्रगतिशील साहित्य लेखेका छन् । उनका १६ वटा उपन्यास र १० वटा कथासंग्रह प्रकाशित छन् । राजनीतिका ’दयगतमा समसामयिक विषयमा उनले नियमित लेख लेख्ने गरेका थिए ।
नेपाललाई एमालेका अध्ययनशील नेताहरूमध्ये एक मानिन्छ । उनले नेताहरूमा पठन संस्कृतिको कमी भएकामा चिन्ता व्यक्त गर्दै आएका थिए । उनी नेताहरूले पढ्ने बानी छोडेकाले भाषण मात्र गर्ने गरेको बताउँथे ।
नेपाल एमालेमा सबैभन्दा पहिला मोबाइल प्रयोग गरेका नेता हुन् । उनी एमालेवृत्तमा सबैभन्दा पहिला घरमा कम्प्युटर राख्ने नेतासमेत थिए । खुला राजनीतिमा आएपछि आफूलाई केही साथीले म्याक ल्यापटप उपहार दिए पनि चलाउन अप्ठ्यारो भएपछि बेचेर डेस्कटप किनेको स्पष्टीकरणसमेत उनले दिनुपरेको थियो ।
उनले ल्यापटप र मोबाइल चलाएको भन्दै एमालेका कतिपय नेताले विरोधसमेत गरेका थिए । उनले चलाएको आधुनिक टेलिफोनको त तत्कालीन महासचिव माधवकुमार नेपालले नै विरोध गरेको नेताहरू बताउँछन् ।
नेपालको निधनले नेपाली वामपन्थी आन्दोलनका एक प्रखर नेता गुमाएको भन्दै नेताहरूले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतले उनको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया