‘परान’ प्रदर्शनमा

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौं : चलचित्र ‘परान’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि यो चलचित्र सिनेमाघरमा आएको हो ।

‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित यो पहिलो चलचित्र हो, जसमा बुबा र छोराबीचको भावनात्मक कथा प्रस्तुत गरिएको छ । ‘परान’को बुकिङ खुला गरिएको छ । चलचित्रले देशभर उत्साहजनक शो पाएको छ ।

चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङ्हाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, साथै बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारी अभिनय गर्नुभएको छ । गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको चलचित्र कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो ।

चलचित्रका गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको संगीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर छ । छायांकन (डि.ओ.पी) शिवराम श्रेष्ठले गर्नुभएको हो भने सम्पादन मित्र डी.गुरुङ र कोरियोग्राफी सुनिल क्षेत्रीले गर्नुभएको छ ।

यो चलचित्रको बिहीबार भव्य प्रिमियर गरिएको थियो । जहाँ दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको थियो । पारिवारिक कथामा आधारित चलचित्र ‘परान’ले दर्शक आकर्षित गर्न ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा पनि गरिएको छ ।

प्रतियोगिताका विजेतालाई एक लाख नगद पुरस्कार प्रदान गरिने निर्माणपक्षले जनाएको छ ।

निर्माणपक्षका अनुसार इच्छुक सहभागीले आफ्नो जीवनको ‘परान’को रूपमा रहेका व्यक्ति (जस्तै आमा-बुबा, श्रीमान्-श्रीमती, साथी, प्रेमी-प्रेमिका, दाजु-भाइ, दिदी-बहिनी आदि) सँगको तस्वीरमा ‘मेरो परान’ लेख्दै भावना व्यक्त गर्नुपर्नेछ र सो पोष्टलाई चलचित्रको आधिकारिक फेसबुक पेजमा ट्यांग गर्नुपर्नेछ ।

सहभागीहरूमध्ये एकजना भाग्यशाली विजेताले गोलाप्रथामार्फत एक लाख रुपैयाँ जित्नेछन्, जबकि १०० जनाले चलचित्रको विशेष शोको टिकट पाउनेछन् । चलचित्रको प्रचारका लागि स्वयंसवकहरूले चलचित्रको क्यूआर कोडसहित शहरभर भ्रमण गरिरहेका छन् । क्यूआर स्क्यान गरी ‘परान’को ट्रेलर वा गीत शेयर गर्ने ५० जनाले कलाकारसँगै चलचित्र हेर्ने अवसर पाउनेछन् । यी दुवै प्रतियोगितामा कात्तिक २० गतेसम्म सहभागी हुन सकिनेछ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार