रुपन्देही : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ता, क्षेत्र नम्बर ३ का कार्यवाहक अध्यक्ष डा. अमित चतुर्वेदी, र महिला संगठनकी जिल्ला सल्लाहकार विनिता गुप्ताले पार्टी परित्याग गरेका छन्।
मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरुले राप्रपाको साधारण सदस्यता समेत त्याग गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। तीनै जना नेताले पार्टीको आन्तरिक अवस्था र यथास्थितिवादी प्रवृत्तिको आलोचना गर्दै राप्रपाले परिवर्तन र सुधारको दिशा समात्न नसकेको आरोप लगाए।
पत्रकार सम्मेलनमा बोल्दै अजयकुमार गुप्ताले पार्टी यथास्थितिवादी सोचमा सीमित भएको र नेतृत्व परिवर्तन तथा विचारका आधारमा पुनर्संरचना गर्न असफल भएको बताए।
उता, डा. अमित चतुर्वेदीले पार्टीभित्र विचार, संगठन र कार्यशैलीमा व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गर्दै वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाए। उनले परिवर्तनको चाहना बोकेका नेताहरूलाई पछि पार्ने प्रवृत्ति बलियो भएको आरोप लगाए।
यसैगरी, महिला सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाको २०७९ सालको स्थानीय तह निर्वाचनमा उपमेयर उम्मेदवार रहेकी विनिता गुप्ताले समेत पार्टीले महिलाको प्रतिनिधित्व र भूमिकालाई कमजोर बनाएको भन्दै राजीनामा दिएकी हुन्।
प्रतिक्रिया