प्रदेश पुनः नामकरण नगरे वैशाख ११ देखि विराटनगर केन्द्रीत आन्दोलन गर्ने घोषणा

आइतबार, ०३ बैशाख २०८०
विराटनगर । कोशी नाम खारेजी र पुनः नामकरणको मागमा प्रदेश सरकार र प्रदेश सभाले वैशाख १० गतेभित्र सम्बोधन नगरे विराटनगर केन्द्रीत आन्दोलन गर्ने चेतावनी पहिचान पक्षधर संगठनहरुले दिएका छन् । माग पूरा नभए वैशाख ११ गतेदेखि १४ गते सम्म विराटनगर केन्द्रीत आन्दोलन गर्ने घोषणा उनीहरुले गरेका छन् । प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको बैठकको उक्त निर्णय गरेको हो । बैठकमा सहभागी प्रमुख घटक सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले भर्चुअल बैठकले उक्त निर्णय गरेको बताए । सङ्घर्ष समितिले प्रदेश सरकार र प्रदेश सभालाई वैशाख १० सम्मको अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमका सन्दर्भमा पुनः स्मरण पत्र दिने जनाइएको छ । त्यसपछि पनि सुनुवाइ नभए आन्दोलन गर्ने निर्णय गरिएको हो । वैशाख १० सम्म जिल्लाहरूमा क्षेत्रीय आमसभा गर्ने त्यस अवधिमा पनि आन्दोलनलाई सम्बोधन नगरिए वैशाख ११ देखि १४ सम्म विराटनगर केन्द्रित आन्दोलन गर्ने निर्णय भएको नेताहरुले बताएका छन् । इजमका अनुसार बैठकले सहिद पदम लिम्बु लाजेहाङको शवलाई वैशाख १५ गते भित्र ससम्मान अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ । त्यसअघि विराटनगर केन्द्रीत दबाब आन्दोलन सशक्त बनाउने कार्यक्रम तर्जुमा गरिने बताइएको छ । आन्दोलनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन ‘पहिचानको लागि युवाः यूथ फर आइडेन्टिटी’ नामक युवा समूह गठन र परिचालनलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ । –फाइल तस्बिर ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार