झन् झन् गिजोलियो गभर्नर नियुक्ति प्रक्रिया, नियुक्तिलाई ‘मजाक’ बनाइँदै

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं : कानुनी बाधा अड्चन भएका व्यक्तिलाई गभर्नर बनाउने हल्ला फिँजाउँदै र उनीहरूमाथि मुद्दा लगाउने प्रक्रियालाई निरन्तरता दिलाउँदै सत्तारूढ दलहरूले गभर्नर नियुक्तिलाई ‘मजाक’ बनाइरहेका छन् ।

डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

६५ वर्ष नाघेका व्यक्तिलाई गभर्नर बनाउने प्रावधान हुँदाहुँदै हठातमा प्रावधान सच्याउँदै डा. रवीन्द्र पाण्डे र राजेन्द्रकिशोर क्षेत्रीलाई बनाउने हल्ला नेपाली कांग्रेस र एमालेले ग¥यो । गभर्नर नेपाली कांग्रेसको कोटामा परेपछि र कांग्रेसले कुनै पनि हालतमा गभर्नर नछोड्ने देखेपछि पाण्डेलाई टक्कर दिन एमालेले ६५ वर्ष नाघेका क्षेत्रीलाई अगाडि सारेको थियो ।

तत्पश्चात एमालेको गुप्त समूह लागेर मुद्दा हालेको बुझाइ अधिकांशको छ । ज्ञानेन्द्र ढुंगानालाई कांग्रेसले बोकेर नबिल बैंकको सीईओबाट ब्याक डेटमा राजीनामा दिलाएपछि एमालेले सुशील भट्टलाई अगाडि सारेको थियो ।

ढुंगानालाई व्यापारिक घरानाले बोकेको भन्दै एमालेले विरोध गरेपछि उनको सीईओ पद गएको र उनी बलिको बोको बनेको देखिएको छ ।

तत्पश्चात राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय प्रकाश श्रेष्ठ र डा। गुणाकर भट्टलाई क्रमशः एमाले र कांग्रेसले बोकेर राजीनामा दिन लगाइएको थियो । यस विषयलाई विवादास्पद बनाउन मुद्दा हाल्न लगाइएको बुझाइ कांग्रेसका एक पक्षको छ ।

अहिले भट्ट राष्ट्र बैंकमा फर्किने वा के गर्ने भन्ने विषयमा अन्योलको सिकार बनेका छन् । उता, एमालेका उम्मेदवार रहेका प्रकाश श्रेष्ठ भने राजीनामा स्वीकृत नभएको भन्दै योजना आयोगको सदस्यका रूपमा सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् ।

गभर्नर बनाउने सिफारिस समितिका सदस्य डा। विश्व पौडेलले राजीनामा दिएर गभर्नर बन्ने लाइनमा उभिएपछि उनका विरुद्धमा रिट निवेदन पेस भएपछि गभर्नर नियुक्ति थप मजाक बनेको छ ।

गभर्नर बनाउन नमिल्ने मागदाबीसहित विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस भएको तर रिट दर्ता भइनसकेको देखिएको छ ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट निवेदन दिएका हुन् । यद्यपि, सर्वोच्च प्रशासनले रिट दर्ता भने गरिसकेको छैन ।

यसअघि तिनै अधिवक्ताले भट्टलाई पनि गभर्नर बनाउन लागेको भन्दै सर्वोच्चमै रिट दायर गरेका थिए । मंगलबार दायर रिटमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा भट्टको विकल्पमा अर्थशास्त्री डा। पौडेललाई ल्याउने सहमति भएको सार्वजनिकीकरण सरकारी पक्षबाटै भएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) ले राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्त हुन नसक्ने व्यवस्था गरेको भन्दै ऐनविपरीत गएर डा. पौडेललाई नियुक्त गर्न लागिएकाले नियुक्ति रोक्नुपर्ने रिट निवेदकको माग छ ।

पौडेल २०७९ मा भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन–१ को उम्मेदवार बनेका थिए । रिटमा पौडेलको नियुक्ति प्रक्रिया ऐनविपरीत हुने जिकिर छ ।

नेपाल राष्ट्र बैंक ऐनले गभर्नरको योग्यतामा कुनै पनि राजनीतिक दलको प्रत्यक्ष संलग्नता नहुनुपर्ने प्रावधान राखेको छ । यही प्रावधानलाई आधार बनाएर रिट दायर भएको हो ।

यसैबीच, विश्व पौडेलले २ वर्षदेखि क्रियाशील सदस्यता नवीकरण नगरेको कांग्रेसले दाबी गरेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले २०७९ सालपछि पौडेलको सक्रिय सदस्यता नवीकरण नभएको दाबी गरेका हुन् ।

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएपछि पौडेल कांग्रेसको महासमिति सदस्य भएका थिए । चितवनको रत्ननगरका मतदाता रहेका पौडेलले केयूमा पढाउन थालेपछि महासमिति सदस्य त्यागिसकेको बताए ।

काठमाडौं विश्वविद्यालयमा अध्यापनकै लागि दलीय आबद्धता त्याग्नुपर्ने भएपछि उनले कांग्रेसको सदस्यता नवीकरण नगरेको बताइएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि सिफारिस समिति सदस्यबाट आइतबार पौडेलले राजीनामा दिएका थिए ।

यसअघि राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. भट्टलाई गभर्नर बनाउन कांग्रेस सभापति देउवाले निकै जोडबल गरेपछि एमालेको उम्मेदवारका रूपमा रहेका कामु गभर्नर निलम ढुंगानाले राजीनामा स्वीकृत गरेकी थिइनन् ।

तर, भट्टले कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा राष्ट्र बैंककै कायममुकायम गभर्नर ढुंगानाले स्वीकृत नगरेपछि देउवाले पौडेलको नाम अघि सारेका हुन् ।

एमालेले ढुंगानालाई नै गभर्नर बनाउन कोसिस गरिरहेको बताइएको छ । उनलाई बनाउन सकिएन भने कामुकै भरमा राष्ट्र बैंकलाई चलाउने दाउ एमालेको रहेको पनि आरोप लागेको छ । त्यही भएर निमित्त मात्र दिए पुग्नेमा कामु दिइएको र राष्ट्र बैंकको अध्यक्षको जिम्मेवारी पनि दिइएको आरोप कांग्रेसको एउटा पक्षको रहेको छ ।

महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गत २५ चैतदेखि राष्ट्र बैंक गभर्नरविहीन छ । गभर्नर नियुक्तिलाई गिजोलिन दिनकै लागि पूर्वगभर्नर राख्नुपर्ने प्रावधानविपरीत अधिकारीलाई नै गभर्नर सिफारिस समितिमा राखेको तर्क पनि उनीहरूको छ ।

यद्यपि, सत्तामा गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकमा गभर्नरको नियुक्ति चाँडै हुने अभिव्यक्ति दोहो¥याइरहेका छन् ।

विराटनगरमा निर्मित मोरङ कारागारको नयाँ भवनको उद्घाटन, आईसीपीमा निर्माण भएको वायरहाउसको हस्तान्तरणका लागि विराटनगर पुगेका गृहमन्त्री लेखकले गभर्नर नियुक्ति प्राविधिक कारणले हुन नसकेको भन्दै अब केही समयमै नियुक्त हुने दाबी गरेका छन् । उनको अभिव्यक्ति सत्ता गठबन्धन टिकाइराख्ने र गृहमन्त्री पद जोगाइराख्ने आशयको रहेको बुझाइ पनि कांगे्रसको एउटा पक्षको छ ।

उनले १० महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको पनि दाबी गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वासको मत लिन जानु नपरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउसमेत गरेका छन् ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार