उमागौरी सहकारी ठगी प्रकरण : उच्च अदालतद्वारा सक्कल मिसिल झिकाउने आदेश

विहीबार, ०१ जेठ २०८२

विराटनगर । मोरङको धनपालथान–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको करोडौं रुपैयाँको बचत अपचलन प्रकरणमा उच्च अदालत विराटनगरले सक्कल मिसिल झिकाउने आदेश दिएको छ।

यो आदेश उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासबाट भएको हो। अदालतले जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै मुद्दाको सक्कल मिसिल झिकाउन निर्देशन दिएको हो।

यो प्रकरणमा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीसहित २६ जनालाई प्रतिवादी बनाइएको छ। सहकारीको बचत अपचलनसम्बन्धी यो मुद्दा २०८१ मंसिर २७ गते जिल्ला सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको थियो।

मुद्दामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित केही आरोपी फरार रहेका थिए भने पूर्ववडाध्यक्ष रोशन चौधरी मात्रै पक्राउ परेका थिए। अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि सहकारीका अध्यक्ष रौनियार र चौधरीलाई कारागार चलान गरिएको थियो।

यो मुद्दामा सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिनाको आरोप छ। बचतकर्ताको रकम अपचलनमा संलग्न भएको आरोपमा रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन चौधरी, संघीय सांसद ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाइएको छ।

गत पुस २४ गते अदालतमा उपस्थित भएकी अन्जला कोइराला जिल्ला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन् भने वडाध्यक्ष सन्तलाल खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए। मुद्दामा कोइरालासहित ६ जना जिल्ला अदालत मोरङको आदेशबाट धरौटीमा छुटेका छन्।

वैशाख ११ गते उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको इजलासमा सुनुवाइ भएको थियो। तर, उनीहरूबीच राय बाझिएपछि अर्को बेञ्च तोकिएको थियो। न्यायाधीश पुडासैनीले जिल्ला अदालतको आदेशलाई सदर गर्ने राय दिएकी थिइन् भने न्यायाधीश बाँस्तोलाले धरौटी बढाएर १ करोड बनाइनुपर्ने राय राखेका थिए।

अदालतले थप छानबिनका लागि सक्कल मिसिल झिकाउने निर्णय गरेसँगै मुद्दामा नयाँ मोड आएको छ। यो मुद्दाको अर्को सुनुवाइ आगामी बिहीबार तोकिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार