विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–६ को कोयलपुरमा मृत फेला परेकी युवतीको हालसम्म पहिचान खुलेको छैन ।
गत शनिवार अपराह्न सडेर दुर्गन्धित भएको अवस्थामा नग्न शव फेला परेको हो । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा फेला परेको शवको अवस्था र घटनास्थलका प्रमाणले बलात्कारपछि युवतीको हत्या भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
अनुहार र शरीरका विभिन्न भागहरूमा किरा परेको र कुहिएको अवस्थामा शव भेटिएको थियो । यसले गर्दा पहिचान गर्न कठिन भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनले भनिन्, ‘अनुहार निक्कै बिग्रिएको छ । किरा परिसकेको छ । यसले शव पहिचान गर्न गाह्रो परेको छ । तर, हामी पहिचानका लागि प्रयास गरिरहेका छौँ । अनुसन्धान पनि तीव्र गतिमा अगाडि बढाइएको छ ।’
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको छ । पोस्टमार्टम गर्न बाँकी छ ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक महिलाको अनुमानित उमेर २० वर्षभन्दा कम हुनसक्छ । घटनास्थलमा भेटिएका कपडाको आधारमा शव महिला भएको पुष्टि गरिएको थियो । कम्मरदेखि तलका सबै वस्त्र खोलिएको अवस्थामा शव भेटिएको र माथिल्लो भागमा भित्री कपडा मात्र रहेको अवस्थामा शव भेटिएको हो ।
घटनास्थलमा मृतकका चप्पल, चिम्टी र पाइन्टजस्ता लुगा पनि अलग्गै राखिएको अवस्थामा भेटिएको थियो । शव नग्न अवस्थामा भेटिएकोले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशङ्का गरिएको प्रहरी स्रोतले बतायो । तर, यो पुष्टि हुन हालसम्म कुनै ठोस प्रमाण भेटिएको छैन ।
डीएसपी चुँडालका अनुसार मृतक धेरै टाढाको नभई स्थानीय वा छेउछाउकै हो भन्ने अनुमान गरिएको छ । उनले भनिन्, ‘शवको वस्त्र र चप्पल हेर्दा टाढाबाट ल्याएको जस्तो लाग्दैन । बरु डेरामा बस्ने वा काम गर्ने युवती हुनसक्छ भन्ने अनुमान गरिएको छ । तर, अहिलेसम्म कुनै व्यक्ति हराएको भनेर प्रहरीसमक्ष आएका छैनन् ।’
घटनाको गम्भीरताका कारण प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अगाडि बढाएको छ । घटनास्थलको म्यापिङ, भेटिएका सामग्रीको परीक्षण र विभिन्न हिसाबले अध्ययनजस्ता प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।
‘कुनै पनि आपराधिक घटना प्रमाण सङ्कलनबाट पुष्टि गर्नुपर्छ । अहिलेलाई देखिएको प्रकृति गम्भीर छ । तर, पुष्टि हुन वैज्ञानिक र कानुनी आधारको आवश्यक छ,’ स्रोतले भन्यो ।
प्रहरीले हालसम्म कुनै शङ्का लागेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छैन । हुन त हत्या हो कि हैन भनेर नै यकिन भइसकेको छैन ।
मृतकको पहिचान खुलाउन आसपासका वडाहरू, छेउछाउका डेरा, होटल र उद्योगहरूमा कार्यरत महिला श्रमिकको जानकारी लिने काम प्रहरीले गरिरहेको छ । त्यस्तै, हराइरहेका व्यक्तिहरूको तथ्याङ्क पनि सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
बूढीगंगा क्षेत्रले विगतमा यस्ता घटनाहरू धेरै भोगेको छैन । तर, यो घटना निकै शङ्कास्पद, रहस्यमय र गम्भीर प्रकृतिको देखिएकोले प्रहरीले अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेको छ । अनुसन्धान पूरा नभएसम्म घटनाका बारेमा अन्तिम निष्कर्ष निकाल्न नसकिने प्रहरीको भनाइ छ ।
प्रहरीले कुनै जानकारी वा सुराकी भएमा तत्काल सम्पर्क गर्न सबैलाई अनुरोधसमेत गरेको छ । ‘विभिन्न कोणबाट गम्भीर ढङ्गले अनुसन्धान भइरहेको छ । शवको पहिचानका लागि अनेक प्रयास गरिएको छ,’ डीएसपी चुँडालले भनिन् ।
प्रतिक्रिया