इस्लामवाद : पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (PIA) फेरि एकपटक विवादमा तानिएको छ।
लाहोरबाट कराँची जान विमान चढेका एक यात्रु शाहजैन नामक व्यक्ति बिना भिसा र पासपोर्ट सिधै साउदी अरबको जेद्दा पुगेपछि यो घटना अन्तर्राष्ट्रिय हेडलाइन बनेको छ।
शाहजैनले कराँचीको टिकट लिएका थिए र लाहोर एयरपोर्टको आन्तरिक टर्मिनलबाट चेकइन समेत गरिसकेका थिए। तर,एयरलाइन्स स्टाफको चरम लापरबाहीका कारण उनलाई जेद्दाह उड्ने विमानमा चढाइयो।
घटना खुलासा शाहजैनले विमानमा चढिसकेपछि भयो,जब उडानको करिब दुई घण्टापछि पनि विमान कराँची नपुगेको देखेपछि उनले क्याबिन क्रूलाई सोधपुछ गरे।
शाहजैन भन्छन्, “मैले स्टाफलाई टिकट पनि देखाएँ, तर मलाई गलत विमानमा हालियो। विमान चढेपछि मात्रै एयर होस्टेसलाई टिकट देखाउँदा उनीहरू पनि अचम्मित भए।” विमान कराँचीको साटो साउदी उडेपछि क्रू सदस्यहरूले उल्टै शाहजैनलाई नै दोष दिन थालेको उनले आरोप लगाएका छन्।
साउदी अरबमा समस्या
जेद्दा एयरपोर्टमा ओर्लेपछि पासपोर्ट र भिसा नभएको खुल्ना साथ शाहजैनले आफू गल्तीले आएको र पाकिस्तान फिर्ता पठाइदिन अनुरोध गरे। तर, उनलाई २–३ दिनसम्म कराँची फर्कन नसकिने जानकारी दिइयो।
शाहजैन अहिले कानुनी लडाइँको तयारीमा छन्। उनले पाकिस्तान एयरलाइन्सविरुद्ध कानुनी कारबाही गर्ने घोषणा गरेका छन्।
सरकारी तहमा छानबिन सुरु
यस घटनापछि पाकिस्तान एयरपोर्ट अथोरिटी (PAA) ले लाहोर एयरपोर्टका अधिकारीहरूबाट सोधपुछ थालेको छ। यो घटना PIA को चरम लापरबाहीको परिणाम भएको भन्दै पीएएले छानबिन अघि बढाएको छ।
लाहोर एयरपोर्ट प्रशासनले जिम्मेवार कर्मचारीमाथि कारबाही प्रक्रिया सुरु भएको जनाएको छ।
यस किस्साले पाकिस्तानको हवाई सुरक्षाको अवस्थामाथि प्रश्न उठाएको छ। यात्रुहरू अब एयरलाइन्सप्रति झनै शङ्कास्पद बन्ने अवस्था देखिएको छ।
प्रतिक्रिया