भैरहवा (रुपन्देही) : नेपालमा उत्पादित स्टिलजन्य सामग्री एक महिनादेखि भारत निर्यात हुन नसक्दा विशेष आर्थिक क्षेत्र (सेज) भैरहवाका उद्योगहरू सङ्कटमा परेका छन्। भारतीय पक्षले ‘स्टिल इम्पोर्ट म्यानेजमेन्ट सिस्टम’ (सिम्स) मार्फत नेपाललाई हटाएको कारण निर्यात ठप्प बनेको हो।
सेजस्थित विस्तार ग्लोबल प्रालिका प्रबन्धक रूपक गर्गका अनुसार, भारतको सिम्स प्रणालीमा फारम भर्दा नेपाल विकल्पमै नरहेको बताए। “हामीले सिम्समा फारम भर्दा नेपालको अप्सन नै देखाउँदैन। निर्यात एक महिनादेखि रोकिएको छ,” गर्गले जानकारी दिए।
विस्तार ग्लोबलमा कार्यरत ३०० देखि ४०० मजदुर रोजगारीमा छन्। निर्यात ठप्प हुँदा उत्पादन भाँडाहरू गोदाममै थन्किएका छन्। उक्त कम्पनीले चालु आर्थिक वर्षमा मात्र ७२ करोड रुपैयाँभन्दा बढीको भाँडा भारत निर्यात गरिसकेको थियो। भाँडामध्ये ९० प्रतिशत भारतमै पठाइन्थ्यो।
पञ्चकन्या समूहले सेजबाट उत्पादन गर्दै आएको खानेपानी ट्याङ्की निर्यात पनि प्रभावित भएको छ। समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार, निर्यात रोकिँदा उद्योग बन्द गर्नु परेको छ। “सेजमा एकद्वार सेवाको अपेक्षा थियो, तर अहिले उद्योग बन्द गर्नुपर्ने स्थिति आयो,” उनले गुनासो गरे।
यसअघि भारतले केवल तयार उत्पादनमा बिआइएस प्रमाणपत्र खोज्दै आएको थियो। विस्तार ग्लोबलले बिआइएस प्रमाणपत्र लिए पनि पञ्चकन्याले लिएको थिएन। तर अहिले कच्चा पदार्थमै प्रमाणपत्र नभएको भन्दै भारतले सिम्सबाट नै नेपाललाई हटाएको उद्योगीहरूको भनाइ छ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले भारतको कदमले नेपाली स्टिल उद्योगलाई गम्भीर धक्का पुर्याउने चेतावनी दिए। विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना प्रविधि वरिष्ठ सहायक सागर सिलवालले यसबारे उद्योग मन्त्रालयमा जानकारी गराइसकेको र अब परराष्ट्र मन्त्रालय तथा भारतीय दूतावासमार्फत पहल आवश्यक रहेको बताए।
सरकारको ढिलासुस्तीबिच सेजका उद्योगहरू निर्यात बन्दको चेतावनी दिँदै उत्पादन रोक्न थालेका छन्। समस्या समाधानमा चाँडो पहल नगरे ठुलो आर्थिक र रोजगारी सङ्कट आउने उद्योगीहरूको चेतावनी छ।
प्रतिक्रिया