काठमाडौँ : बैंक तथा वित्तीय संस्थाहरूमा ७२ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भई ५६ खर्ब ८ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई हम्मे हम्मे पर्न थालेको छ ।
बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७६ प्रतिशतमा र अन्तर बैंक कर्जा दर २ दशमलव ७५ प्रतिशतमा झरेपछि तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले तरलता प्रशोधन गरेको छ ।
अल्पकालीन ब्याजदर घट्नु, ऋण लगानी स्थिर रहनु र निक्षेप तीव्र गतिमा बढ्नु मौद्रिक असन्तुलनको सङ्केत हो । राष्ट्र बैंकले यस्ता असन्तुलनलाई रोक्न मौद्रिक औजारको सक्रिय प्रयोग थालेको छ
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न नसक्दा उक्त रकम निष्क्रिय बन्न पुगेको तथ्याङ्क आएपछि तरलता प्रशोधन गर्ने गर्छ ।
बैङ्कहरूले कर्जा लगानी गर्न नसकेपछि सरकारी ऋणपत्र, विशेषगरी ट्रेजरी बिलमा बैङ्कहरूको प्रतिस्पर्धा बढेको छ । यही मौकामा सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले पनि आन्तरिक ऋण उठाउन प्रतिस्पर्धा गराएको छ ।
अल्पकालीन ब्याजदर घट्नु, ऋण लगानी स्थिर रहनु र निक्षेप तीव्र गतिमा बढ्नु मौद्रिक असन्तुलनको सङ्केत हो । राष्ट्र बैंकले यस्ता असन्तुलनलाई रोक्न मौद्रिक औजारको सक्रिय प्रयोग थालेको छ ।
नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिलाई प्रभावकारी बनाउन र बजारमा देखिएको अधिक तरलतालाई व्यवस्थित गर्न निक्षेप सङ्कलन उपकरण र ट्रेजरी बिलको नवीकरणलाई प्राथमिकता दिएको छ । यसले अल्पकालीन ब्याजदरलाई कोरिडोर भित्र राख्ने मात्र नभई वित्तीय प्रणालीमा स्थिरता कायम गर्ने अपेक्षा गरिएको छ ।
‘अधिक तरलता’ नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले भदौ १५ मा ५५ अर्ब निक्षेप सङ्कलन गरेको ३ दिनपछि नै भदौ १८ मा पुनः ५० अर्बको निक्षेप तानेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले ८ अर्बको ट्रेजरी बिल नवीकरण गरेको ३ दिनमै अर्थात् भदौ १८ मा १० अर्बको विकास ऋणपत्र जारी गरेको छ । ९ वर्षका लागि १० अर्बको विकास ऋणपत्रमा पनि प्रतिस्पर्धा भएको थियो ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप आकासिँदै गए पनि ऋण लगानी विस्तार हुन नसक्दा ठुलो मात्रामा ‘निष्क्रिय पैसा’ बैङ्किङ प्रणालीभित्र थन्किएको छ। यसले गर्दा अल्पकालीन ब्याजदरहरू कोरिडोरको तल्लो सीमातिर झर्न थालेका छन्।
मौद्रिक नीतिको प्रभावकारिता कमजोर हुने चिन्ता बढेपछि नेपाल राष्ट्र बैंकले ‘अधिक तरलता व्यवस्थापन’लाई प्राथमिकतामा राख्दै मौद्रिक उपकरणको प्रयोग तीव्र बनाएको छ ।
राष्ट्र बैंकले ५५ अर्ब र ५० रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरण जारी गरेको हो । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले ८ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरे लगत्तै १० अर्बको विकास ऋणपत्रका लागि बोलकबोल गरेको हो । यी दुई प्रमुख कदमले बजारमा उपलब्ध अतिरिक्त तरलतालाई तानेर ब्याजदरलाई वाञ्छित दायराभित्र राख्ने उद्देश्य लिएको छ ।
राष्ट्र बैंकले २१ दिन अवधिको लागि ५५ अर्ब र ५० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्दा न्यूनतम बोली १० करोड रुपैयाँ राखिएको थियो ।
राष्ट्र बैंकले यसलाई अनिवार्य नगद मौज्दात ( सिआरआर) मा गणना गर्न नपाइने तर वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा गणना गर्न सकिने व्यवस्था गरेको छ। यति मात्र होइन, यो उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने प्रावधानसमेत राखिएको छ ।
हाल अन्तरबैंक ब्याजदर लगातार कोरिडोरको तल्लो सीमाभन्दा तल झर्दै आएको छ। मौद्रिक नीतिको सन्देश कमजोर हुने खतरा देखिएपछि राष्ट्र बैंकले बारम्बार निक्षेप सङ्कलन र ट्रेजरी बिलमार्फत पैसा तान्दै आएको हो ।
हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा जम्मा निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । तर, अर्थतन्त्रमा पुँजीगत खर्च सुस्त हुनु, निजी क्षेत्रको लगानी उत्साहजनक नहुनु र आयात निर्यात दुवै पक्षमा अस्थिरता देखिनुले बैङ्कहरूको ऋण लगानी क्षमता खुम्चिएको छ ।
प्रतिक्रिया