हामी फेरि उठ्ने छौं, तपाईंहरूसँगै : एनसेल

सोमबार, ३० भदौ २०८२

काठमाडौं : गत हप्ताको तोडफोडका घटनाले ‍काठमाडौंस्थित आफ्नो मुख्य कार्यालय ‘एनसेल आइकन’सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुगेको एनसेलले जनाएको छ ।

यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको कम्पनीले जनाएको छ ।

‘यी चुनौतीहरूबीच पनि एनसेल सधैँ झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो,’ एनसेलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं ।

हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्‍याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौं र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ ।’

देशका युवाहरूको अगुवाइमा गरिएका आन्दोलनले ल्याएको परिवर्तनलाई कम्पनीले स्वागत गरेको र यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा गरेको कम्पनीले जनाएको छ ।

‘२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रूपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्‍याउँदै आएको छ,’ कम्पनीले भनेको छ, ‘आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौँ ।’

Ncell

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार