स्वास्थ्य बीमा निर्णयले संकटमा कोशी अस्पताल, मन्त्रालयलाई पुनर्विचारको आग्रह

मंगलबार, ३१ असार २०८२

विराटनगर : स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णयले विराटनगरस्थित कोशी अस्पताल संकटमा पर्ने अवस्था सिर्जना भएको भन्दै अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयमा निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि कोशी अस्पताललाई ‘प्रथम सेवा बिन्दु’बाट हटाएर मात्र ‘रेफरल केन्द्र’का रूपमा तोकेको छ । यसअघि अस्पताललाई दुबै सेवा — प्रथम सेवा केन्द्र र रेफरल केन्द्रको रूपमा मान्यता दिइएको थियो ।

कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.रुणा झाले असार २७ गते मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ,‘अस्पताललाई केवल रेफरल सेन्टर तोक्दा बिरामीको चाप दुईतिहाइले घट्नेछ। यो निर्णयले अस्पतालको सेवा सञ्जाल र आम्दानी दुवैमा गम्भीर असर पार्नेछ ।’

उनले रेफरल केन्द्रको रूपमा सरकारी अस्पताल मात्र तोकिएको भए समस्या नआउने बताउँदै निजी अस्पतालहरूसँग प्रतिस्पर्धा गर्न कोशी अस्पतालको पूर्वाधार पर्याप्त नभएको समेत बताइन् । 

विपन्न बिरामी प्रभावित, सेवामा कटौतीको जोखिम

कोशी अस्पतालमा हाल दैनिक १ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्, जसमा करिब ७० प्रतिशत स्वास्थ्य बीमा योजनामा आबद्ध छन् । तीमध्ये झण्डै ४० प्रतिशत बिरामी ‘प्रथम सेवा बिन्दु’को रूपमा कोशी अस्पतालमा आउँछन् ।

प्रथम सेवा केन्द्रको मान्यता हटाइएपछि यी बिरामीलाई अन्य स्थानीय तहमा तोकिएका सेवा केन्द्रबाट रेफर हुनुपर्ने बाध्यता हुनेछ । बोर्डले विराटनगरमा रानी प्राथमिक स्वास्थ्य केन्द्रलाई मात्र प्रथम सेवा केन्द्र तोकेको छ, तर त्यो केन्द्रले कोशी अस्पतालको जस्तै बिरामीको चाप थेग्न नसक्ने अवस्था रहेको अस्पताल प्रशासनको भनाइ छ ।

आन्तरिक आम्दानीमा ह्रास, कर्मचारी तलबमै असर

कोशी अस्पतालमा ठूलो संख्यामा कर्मचारी आन्तरिक स्रोतबाट तलब भत्ता लिएर कार्यरत छन् । तर, बीमित बिरामीको संख्या घट्दा अस्पतालको आम्दानी घट्ने भएकाले तलब तथा अन्य खर्च व्यवस्थापनमा समेत चुनौती आउने चेतावनी अस्पतालले दिएको छ ।

‘बिमा नभएका अधिकांश बिरामी विपन्न वर्गका हुने गरेका छन् । यिनले निःशुल्क उपचारका लागि कोशी अस्पतालको भर पाउने गरेका छन् । उनीहरू अन्य निजी अस्पतालमा जान सक्दैनन् ।’ डा. झाले उल्लेख गरेकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई अनिवार्य बीमा गर्न निर्देशन दिएको अवस्थामा कोशी अस्पतालकै कर्मचारी बिरामी परे पनि अन्य प्राथमिक केन्द्र जानुपर्ने अवस्था आउने अस्पतालले जनाएको छ ।

‘दुवै सेवा बिन्दुको मान्यता उपयुक्त’

अस्पताल प्रशासनले कोशी अस्पताललाई पुनः ‘प्रथम सेवा बिन्दु’सहित ‘रेफरल केन्द्र’को रूपमा कायम राख्न आग्रह गरेको छ । मन्त्रालयले अस्पतालको आग्रहमाथि के प्रतिक्रिया जनाउने हो, त्यो भने खुलाइएको छैन । यद्यपि, स्थानीयस्तरमा यस निर्णयको चर्को विरोध सुरु भइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार