विराटनगर : असार १९ गते विराटनगर महानगरपालिका–६ निवासी पोखरेल थरका एक व्यक्ति काममा व्यस्त थिए । त्यत्तिकैमा फोन आयो, ‘हामी राष्ट्रिय वाणिज्य बैङ्कबाट बोलिरहेका छौँ ।
तपाईँको मोबाइल बैंकिङ सेवा रिन्यु गर्नुपर्छ । सन्देशमा आएको ओटिपि नम्बर पढिदिनुहोस् ।’
सहजै विश्वास गरेका उनले ओटिपि तत्काल बताइदिए । केही मिनेटमै बैङ्कबाट म्यासेज आयो, ‘खाताबाट २ लाख ५० हजार रुपैयाँ काटिएको छ ।’ त्यसपछि उनी बैङ्क पुगे । त्यहाँ पुग्दा ठगिएको थाहा भयो । त्यसपछि प्रहरीकहाँ उजुरी दिए । तर न पैसा फिर्ता भयो, न त ठग फेला परे ।
असार २० गते विराटनगर–८ का चौधरी थरका व्यक्तिलाई ‘ई–सेवा केवाइसी अपडेट’को नाममा फोन आयो । फोन गर्ने व्यक्तिले पनि कोड माग्यो । उनले ओटिपि दिँदा–नदिँदै वालेटबाट ४६ हजार रुपैयाँ गायब भयो ।
यस्तै, असार १९ मा विराटनगर–८ का बस्नेत थरका व्यक्तिको वालेटबाट पनि ३७ हजार ८ सय रुपैयाँ गायब भयो । त्यो पनि ‘एकाउन्ट भेरिफिकेसन’ भन्दै आएको फोनको विश्वासमा परेर ओटिपि दिएका कारण ।
यी तीन जना मात्र होइनन्, पछिल्लो महिनामा मोरङमा मात्रै ३८ जना यस्तै अनलाइन ठगीको सिकार बनेका छन् । उनीहरूको खाताबाट जम्मा ३७ लाख ३६ हजार ३ सय ९० रुपैयाँ ठगिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा पछिल्लो १ वर्षको अवधिमा अनलाइन ठगीका ३ सय ३९ उजुरी परेका छन् । ती उजुरीमा उल्लेख भएअनुसार ठगीको रकम जम्मा ७ करोड ५८ लाख रुपैयाँभन्दा बढी हुन्छ ।
सुरुमा ठगीमा संलग्नले बैङ्कमा खाता भएका सर्वसाधारण पत्ता लगाएर फोन गर्छन् । आफूलाई बैङ्क वा डिजिटल वालेट सेवा प्रदायक बताउँछन् । ‘खाता रिन्यु गर्नुपर्छ’, ‘केवाइसी अपडेट गर्नुहोस्’, ‘जागिरको अन्तर्वार्तामा चयन हुनुभयो’ भन्दै भ्रममा पार्छन् । त्यसपछि मोबाइलमा आएको ओटिपि माग्छन् ।
कहिलेकाहीँ बैङ्कको नाममा, कहिले ई–सेवा अन्य वालेट कम्पनीको नाममा यस्तो ठगी निरन्तर भइरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । सतर्कता नअपनाउँदा मोबाइल बैंकिङ प्रयोग गर्ने, अनलाइन कारोबार गर्ने वा डिजिटल वालेट चलाउने धेरै व्यक्तिहरूले ठगीको सिकार भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडाले बताइन् ।
उनका अनुसार मोबाइल बैंकिङ, वालेट र डिजिटल कारोबार प्रणालीजस्ता प्रविधि आम नागरिकको जीवनमा सहजता ल्याउने औजार हुनुपर्ने हो । तर, सावधानी नअपनाउँदा ठगीका गिरोहका लागि सजिलो सिकार बन्ने गरेको चुँडाल बताउँछिन् ।
उनका अनुसार अधिकांश ठगीको धन्दा भारतको सीमावर्ती क्षेत्रबाट सञ्चालन हुन्छन् । गिरोहका सदस्यले नेपालमा रहेका बेरोजगार, विद्यार्थी वा सवारी चालक र सर्वसाधारणलाई सानो रकमको लोभ देखाएर आफ्नो नाममा बैङ्क खाता खोल्न लगाउँछन् ।
त्यो खातामार्फत ठगीको पैसा ट्रान्सफर हुन्छ । पैसा सीधा मुख्य ठगको खातामा जान्दैन । धेरैजसो पैसा त्यस्ता ‘डमी’ खाताबाट घुमाइन्छ । जसका कारण ठगीलाई ‘ट्रेस’ गर्न गाह्रो बनाउँछ । प्रहरीले ठगीमा संलग्नको जालो पत्ता लगाउन नसक्नुको कारण पनि यही हो ।
एक अर्को गम्भीर पक्ष भनेको ‘लक्षित खाता’का जानकारीहरू ठगहरूसम्म पुग्नु हो । प्रहरीका अनुसार ठगहरूले पैसा भएको खाता छानी छानी ‘ह्याक’ गरेका छन् । यस्तो संवेदनशील जानकारी सामान्य व्यक्तिका हातमा पुग्न गाह्रो छ।
‘खातामा कति पैसा छ भन्ने कुरा बैंकका कर्मचारीबाटै चुहिएको हुन सक्छ,’ प्रहरी स्रोतले भन्यो । यद्यपि, डीएसपी चुँडाल भन्छिन्, ‘गिरोहले रेकी गरेर पनि यस्तो ठगी गर्न सक्छन् ।’ केही अघिका घटनाहरूमा बैंकका कर्मचारी पनि संलग्न रहेको प्रहरीले पुष्टि गरिसकेको छ ।
जनचेतना अभाव नै ठगीको मूल जड रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार अनलाइन ठगीविरुद्ध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न थालिएको छ । मोरङ प्रहरीले एफएम रेडियो, सामाजिक सञ्जाल र सार्वजनिक भेलामार्फत जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको हो ।
एसपी चिमरियाले भने, ‘हामीले नागरिकलाई भनिरहेका छौँ, कुनै पनि ओटिपि, पासवर्ड वा भेरिफिकेसन कोड अरू कसैलाई नदिनुहोस् । बैङ्क वा वालेट कम्पनीले फोन गरेर कहिल्यै यस्ता विवरण माग्दैन ।’ उनले अनलाइन कारोबार गर्दा सधैँ आधिकारिक एप वा वेबसाइटमार्फत मात्र गर्नुपर्ने बताए ।
नेपालमा साइबर अपराधविरुद्धको कानुनी संरचना र प्रविधि दुवै कमजोर छन् । सीमापारबाट सञ्चालित अपराधमाथि कारबाही गर्न नेपाल–भारत सहकार्य पनि प्रभावकारी छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा धेरैजसो प्रयोगकर्ता अझै पनि अनलाइन कारोबारलाई हलुका रूपमा लिन्छन् । मोबाइलमा आएको ओटिपि वा पासवर्ड जोगाउने बानी छैन। तत्काल विश्वासमा परेर दिन्छन् ।
यही बानी र लापरबाही ठगका लागि सुनको बाटो बनेको प्रहरीको विश्लेषण छ । न यो समस्या कुनै एउटा व्यक्तिको हो, न त कुनै एउटा ठाउँको । ‘डिजिटल कारोबारमा लापरबाही गर्ने जुनसुकै व्यक्तिको खाता, कहिले र कसरी ठगीको निशाना बन्ने हो भन्न सकिँदैन,’ एसपी चिमरियाले भने ।
ठगीको सिकार हुनबाट बच्न अबको पहिलो सर्त नै जागरूकता र सावधानी रहेको उनले बताए । ‘बैङ्क वा कुनै सेवा प्रदायकका नाममा आएका फोनमा विश्वास गर्न भएन । कुनै ‘सुनौलो अफर’को लोभमा पर्न हुँदैन । अनि मात्रै ठगीबाट बच्न सकिन्छ,’ उनी भन्छन् । फोन आएकै भरमा ओटिपि कोड उपलब्ध गराउँदा ठगीमा परिने चिमरियाले बताए ।
प्रतिक्रिया