विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शिक्षाशास्त्र संकायमा आन्तरिक विवाद अत्यन्तै चर्किएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसमा शिक्षाशास्त्र संकायका कार्यक्रम संयोजक राजकुमार यादवमाथि पदीय दुरुपयोग, आर्थिक हिनामिना र शैक्षिक गतिविधिमा मनोमानी गरेको आरोप सार्वजनिक रूपमै उठेको छ । उनीमाथि अनेक आरोप लागेपछि संकायको वातावरण तनावपूर्ण बनेको छ । संकायका सबै शिक्षकले सामूहिक रूपमा २५ बुँदे ज्ञापनपत्र बुझाउँदै यादवको बर्खास्ती र निष्पक्ष छानबिनको माग गरेपछि विवाद झनै गहिरिएको छ ।
शिक्षकहरूले क्याम्पस प्रमुख डा. रामावतार शरण, सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारी र त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईका सभापति नवीन अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा संयोजक यादवका गतिविधिले संकायको शैक्षिक वातावरण नै अस्थिर बनेको उल्लेख छ । उनीहरूका अनुसार २०८१ साउन ४ गते पदभार सम्हालेपछि यादवले पदको दुरुपयोग गर्दै मनोमानी कामको श्रृंखला सुरु गरे । जसले शिक्षाशास्त्र संकायको विश्वासयोग्यता र व्यवस्थापन नै धराशायी बनाएको छ ।
बीएड दोस्रो वर्षका स्वास्थ्य तथा शारीरिक शिक्षा तथा अंग्रेजी शिक्षाका प्रयोगात्मक परीक्षामा आन्तरिक सुपरिवेक्षकलाई दिने पारिश्रमिक नदिएको मात्र होइन, सुपरिवेक्षकको हस्ताक्षर आफैं सिर्जना गरेर लेखाबाट पैसा निकालेको आरोप सबैभन्दा गम्भीर छन् । त्यस्तै, आंशिक शिक्षकहरूको हाजिरी तालिका घटाएर पारिश्रमिक भुक्तानी गरेको, विद्युतीय हाजिरीमा नदेखिएका कक्षालाई पनि कक्षा सञ्चालन भएको झैँ देखाई रकम बुझाएको, एमएड उत्तीर्ण नभए पनि शिक्षण अभ्यास समितिमा बसेर नियमविपरीत निर्णयमा हस्तक्षेप गरेको र बीएड तथा एमएड दुवै कार्यक्रमको संयोजक बनेर अधिकार दुरुपयोग गरेको गुनासा शिक्षकहरूका छन् ।
यति मात्र होइन, विद्यार्थीले कक्षा नलिएको गुनासो राख्दा उल्टै थर्काउने व्यवहार गरेको, एमएड प्रथम सेमेष्टरको कक्षा सञ्चालनसम्बन्धी बैठकमा सबै शिक्षकलाई जानकारी नदिई गोप्य रूपमा निर्णय गरेर पछि आफूखुसी परिवर्तन गरेको, कार्यकक्षभित्र शिक्षकलाई अपमानजनक व्यवहार गरेको र एकदिने वर्कसपका लागि शिक्षकहरूबाट संकलित ३५ हजार रुपैयाँ हिनामिना गरेको आरोप पनि लगाइएको छ । शिक्षकहरूको भनाइमा संकायमा देखिएको अव्यवस्थित कार्यशैलीका कारण शैक्षिक प्रणाली नै जोखिममा पुगेको छ ।
आंशिक प्राध्यापक रामकुमार मेहताले संयोजक यादव आएपछि संकायको वातावरण पूर्ण रूपमा बिग्रिएको टिप्पणी गरे । उनका अनुसार पदको दुरुपयोग हुँदै गएपछि शिक्षकहरू चुप बस्न नसक्ने अवस्थाले सबैलाई एकजुट बनाइयो । ‘संस्था जोगाउन हामी उठेका हौं । पदको लोभले संस्थाको भविष्य जोखिममा पारियो,’ मेहताले भने । शिक्षकहरूका अनुसार संकायमा पठनपाठनको गुणस्तर, निर्णय प्रक्रियाको पारदर्शिता र शैक्षिक अनुशासन सबै एकैसाथ प्रभावित भएका छन् ।
यता, संयोजक राजकुमार यादवले भने आफूविरुद्धका सबै आरोपलाई निराधार र योजनाबद्ध षड्यन्त्र भएको बताए । ‘सबै आरोपहरू पुरै भ्रम छरेर बनाइएका छन् । मैले कुनै अनियमितता गरेको छैन । आरोप लगाउनेसँग प्रमाण छैन,’ यादवले भने । शिक्षकहरूलाई आरोप प्रमाणित गर्न उनले चुनौतीसमेत दिए ।
शिक्षकहरूले बुझाएको ज्ञापनपत्रमा यादव पदमा बस्न योग्य नभएकाले उनलाई बर्खास्त गर्नुपर्ने माग गरिएको छ । साथै, छानबिन र कारबाहीको मागसमेत गरिएको छ । आरोप–प्रत्यारोपको बीचमा संकायको सहज शैक्षिक वातावरण अनिश्चित बनेको छ ।
प्रतिक्रिया