सुर्खेत : विभागीय मन्त्रीसँग कुरा नमिलेपछि हालै बर्खास्तीमा परेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) निर्माण व्यवसायी पनि हुन् । कांग्रेस रामेछापको सभापतिसमेत रहेका उनको स्वामित्वको कम्पनीले वीरेन्द्रनगरमा दर्जन बढी सडक अलपत्र पारेको छ । निवर्तमान राज्यमन्त्री र सांसदजस्तो जिम्मेवार व्यक्तिको स्वामित्वमा रहेको कम्पनीले लामो समयदेखि सडक अलपत्र पारेपछि वीरेन्द्रनगरवासी भने धूलो खान बाध्य छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरका सहरी सडकअन्तर्गत प्याकेज १ मा पर्ने १५ वटा सडक २०७८ भदौमा तामाङको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालिले पाएको थियो । सांसद तामाङको कम्पनीले सडक निर्माणका लागि १२ करोड ९४ लाख रुपैयाँमा ठेक्का पाएको थियो । उनले सडक निर्माण गरिरहेको क्षेत्र कर्णाली प्रदेश सरकारका मन्त्रालयहरू, मुख्यमन्त्री, मन्त्रीलगायतका उच्च पदस्थहरूको आवास क्षेत्रमा पर्छ ।
आफ्नै आँगनका सडकहरू जिम्मेवार व्यक्तिको कम्पनीले अलपत्र पार्दा प्रदेश सरकार भने निरीह बनेको छ । बारम्बार चेतावनी दिँदासमेत सांसद तामाङले टेरेका छैनन् । कतिसम्म भने प्रदेश सरकारले तामाङको कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरिरहेका बेला संघीय सरकारले सार्वजनिक खरिद नियमावली १४औं संशोधन गरेर कालोसूचीमा पर्नबाट जोगाएको थियो ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार निर्माण कम्पनीले कुनै सडकको नाला मात्र गरेको छ भने कुनैमा ग्राभेल हालेर अलपत्र पारिएको छ । यस कम्पनीले डिभिजन वन कार्यालयअगाडिको १ सय ८१ मिटर सडक नाला र सब–बेस, खारखोली–टेलिकम चोक २ सय २५ मिटर, खारखोली हटलाइन ३ सय ३४ मिटर, इत्राम खोलादेखि जिल्ला प्रहरी कार्यालयअगाडिको ४ सय मिटर, जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडिको ६ सय ३५ मिटर सडक स्तरोन्नतिको काम अधुरै छाडेको छ ।
त्यस्तै, पूर्वाधार विकास निर्देशनालय अगाडिको सडक पनि अलपत्र अवस्थामा छ । २ सय ४० मिटरको सो सडकमा अहिलेसम्म नाला बनाउने र सब–बेसको काम मात्रै भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अगाडिको २ सय २० मिटर, बस्नेत नर्सरीदेखि पुरानो वडा कार्यालयको ३ सय ३० मिटर, प्रदेश प्रहरी कार्यालयदेखि खारखोली १ सय ११ मिटर, कालिञ्चोक–मिलनचोक ३ सय ८८ मिटर सडक अलपत्र अवस्थामा छाडिएको छ ।
खजुरा भित्री मोडेल कलेजदेखि उत्तर पश्चिम ७ सय ३६ मिटरको सडक कालोपत्रे गरे पनि रङरोगन काम भने बाँकी छ । गण्डकी लाइन सडक, मुख्य बजारभित्रको १ सय २० मिटर सडक, महिला छात्राबासदेखि दैलेख रोड ४ सय ४० मिटरको सडकमा आंशिक काम भएको छ । निर्माण कम्पनीले लालुपाते चोक उत्तर २ सय मिटर, कर्णाली राजमार्ग–सितलनगर १ सय ६० मिटरको सडकको काम सुरु नै गरेको छैन ।
पूर्वाधार निर्देशनालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले सडक सम्झौता समाप्त भई जरिमाना तोकेर सम्पन्न गर्न दिएको मितिमा समेत निर्माण सम्पन्न हुने सम्भावना नदेखिएको बताए ।
पहिलो सम्झौतामा सडक नबनेपछि दोस्रोपटक थपिएको समयावधि २० मंसिर २०८१ मा सकिएको थियो । दोस्रोपटक थपिएको म्यादमा सडक निर्माणले पूर्णता नपाउने देखिएपछि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहत रहेको पूर्वाधार निर्देशनालय सुर्खेतले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।
निर्देशनालयले कम्पनीलाई प्रतिदिन सम्झौताको कुल रकमको शून्य दशमलव ५ प्रतिशतका दरले जरिमाना तिर्नेगरी २ सय दिनको समयावधि दिएको थियो । ‘निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि मैजुबहाल काठमाडौंले जरिमानासहित दिइएको समयावधिमा पनि काम सम्पन्न गरेको छैन,’ सूचना अधिकारी शाहीले भने, ‘दोस्रोपटक थपिएको समयमा काम सम्पन्न हुन नसकेपछि निर्देशनालयले जरिमानासहितको समय दिइएको हो तर यस अवधिमा पनि निर्माण हुने छाँट देखिएको छैन ।’
निर्देशनालयको चेतावनीपछि निर्माण कम्पनीले पछिल्लो समय गरेको कामको भुक्तानीसमेत लिन आएको छैन ।
उता, कान्छाराम कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि अनिल नेपालले काम अलपत्र पारेको नभई केही ढिला भएको बताए । ‘काम छाडेको होइन, अब लगत्तै बाँकी काम सुरु गर्छौं, कालोपत्रे गर्ने इक्युपमेन्ट खाली नभएर रोकिएको हो,’ उनले भने, केही बिल पनि भुक्तानी हुन बाँकी छ, असारसम्म सबै काम सक्ने तयारीमा छौं ।’
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया