विराटनगर । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा रहेको नेपाल बैंकका सुरक्षा गार्डको हतियार र गोली चोरी गरेर भागेका युवक पक्राउ परेका छन् ।
मधेश प्रदेशका प्रहरी प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार सुरक्षा गार्ड सुत्ने कोठाको दराजबाट १ नाले १२ बोरको बन्दुक र २० राउण्ड गोली शुक्रबार बिहानका राति चोरी भएको थियो । बैंकका गाडीहरु सप्तरीको शम्भुनाथ नगरपालिका–७ का अन्दाजी ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका–५ का अन्दाजी ४४ वर्षीय पर्शुराम चौधरी कोठामा सुतिरहेका बेला हतियार र गोली चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
दराजमा हतियार र गोली राखेर राति सुरक्षा गार्ड सुतेका बेला कोठाभित्र छिरेका व्यक्तिले हतियार चोरी गरेर लगेको एसएसपी कोइरालाको भनाइ छ । उनका अनुसार सुरक्षा गार्डको मोबाइल र झोलासमेत चोरी भएको थियो । हतियार र गोली चोरी भएको जानकारी सुरक्षागार्डले प्रहरीलाई दिएका हुन् ।
हतियार र गोली चोरी गरेर फरार भएका युवक सिरहाको लाहानबाट पक्राउ परेका छन् । चोरीमा संलग्न खडक नगरपालिका–६ का २० वर्षीय अप्साद अन्सारीलाई पक्राउ गरिएको जानकारी कोइरालाले दिए । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय लाहानको सहयोगमा अन्सारीलाई बिहानका राति ३ः४५ बजेतिर पक्राउ गरेको हो ।
अन्सारी पक्राउ परेपछि हतियार र गोलीसहितका चोरी भएका सामान पनि प्रहरीले बरामद गरेको छ । सोधपुछ गर्ने क्रममा उनले सामान देखाएका थिए । चोरी गरेपछि हतियार र गोली बैंकनजिकै झाडीमा लुकाएर राखेर अन्सारी फरार भएको पाइएको एसएसपी कोइरालाको भनाइ छ ।
‘पक्राउ परेकाले लुकाएर राखेको अवस्थामा हतियार र गोली बरामद भएको छ । मोबाइलसहितका सामान पनि फेला पर्यो,’ उनले भने । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया