भक्तपुर : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती सेवा विधेयकअन्तर्गत प्रस्तावित ‘कुलिङ पिरियड’ हटाउने कुनै पनि प्रयासप्रति गम्भीर आपत्ति जनाउँदै उक्त विषयमा पार्टीको अडान स्पष्ट रूपमा राखेका छन्।
भक्तपुरको मध्यपुरथिमिमा आज आयोजित विचार गोष्ठी तथा नेपाल तरुण दलको अधिवेशन उद्घाटन समारोहमा बोल्दै शर्माले राज्य व्यवस्था समितिले सिफारिस गरेको दुई वर्षे कुलिङ पिरियड अवधिलाई हटाउने कार्य भएमा नेपाली कांग्रेस सरकारमा रहने वा नरहनेबारे पुनर्विचार गर्न बाध्य हुने चेतावनी दिए। “कुलिङ पिरियड साढे दुई वर्ष बनोस्, तर हट्न सक्दैन,” उनले भने, “समितिको सिफारिस उल्ट्याएर प्रधानमन्त्रीको निर्देशनमा हटाउने प्रयास भयो भने कांग्रेस सरकार जोगाइरहन्न।”
शर्माले भूमि विधेयकका सन्दर्भमा पनि समितिमा सहमति भएर अघि बढाइने स्पष्ट गरे। साथै, उनले स्व. बिपी कोइरालाको विचार र सिद्धान्तहरू अहिलेको सन्दर्भमा अझै सान्दर्भिक रहेको भन्दै लोकतन्त्र, विकास र राष्ट्रहितका विषयमा बिपीका दृष्टिकोणलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक अनुसरण गर्नुपर्ने बताए। “बिपीलाई कांग्रेस, अन्य दल वा राजतन्त्रले गम्भीरतापूर्वक बुझेको भए देश आज यति समस्यामा पर्ने थिएन,” उनले टिप्पणी गरे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले पार्टीभित्र र बाहिर देखा परेका भ्रम र अफवाहका बिच कांग्रेस २०८४ को निर्वाचनमा बहुमत ल्याउने लक्ष्यका साथ एकताबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए।
सो अवसरमा काँग्रेसका पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपसभापति अनिल श्रेष्ठलगायतले पनि आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सभापतित्व कांग्रेस मध्यपुरथिमि नगर समितिका सभापति हरिदास प्रजापतिले गरेका थिए।
प्रतिक्रिया