रौतहट : रौतहटको कटहरिया नगरपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र चिकित्सकहरूको लापरबाहीका कारण दुई शिशु र एक युवकको ज्यान गएको भन्दै आक्रोशित स्थानीयवासीले मङ्गलवार स्वास्थ्य केन्द्र र नगरपालिकामा तालाबन्दी गरेका छन्।
पीडित बाबुलाल दासका अनुसार उनकी छोरीले छोरा जन्माए पनि शिशु नरोएको कारण नार काटेर साँझस्थित निजी क्लिनिक पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो। यस्तै सोमबार साँझ बडेर्वाकी पुनम साहलाई व्यथा लागेपछि केन्द्रमा लगिएको तर एक्सरेमा अझै १० दिन बाँकी देखाइएको भन्दै औषधि दिएर घर पठाइएको थियो। तर अवस्था गम्भीर बनेपछि पुनः निजी क्लिनिक लगिँदै गर्दा बाटोमै शिशुको मृत्यु भएको हो।
तेस्रो घटना शनिवार रातिको हो, जब आत्महत्याको प्रयास गरेका पत्रकार रवीन्द्र प्रजापतिलाई उपचारका लागि ल्याइए पनि अक्सिजनको अभावका कारण ज्यान गएको परिवारले आरोप लगाएका छन्।
स्थानीयहरूका अनुसार केन्द्रमा अक्सिजन, औषधि, ग्लब्सजस्ता अत्यावश्यक सामग्री छैनन्, चिकित्सकहरू समयमा उपस्थित हुँदैनन्। “स्वास्थ्य केन्द्रको अवस्था भयावह छ, यहाँ उपचार माग्दा पनि उपेक्षा हुन्छ,” एक स्थानीय बासिन्दाले गुनासो गरे।
तीन वटा मृत्यु घटनापछि आक्रोशित स्थानीयवासीले दोषी चिकित्सक र कर्मचारीलाई कारबाही गर्न, केन्द्रमा आवश्यक सुविधा उपलब्ध गराउन र नगरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न माग गर्दै तालाबन्दी गरेका छन्।
स्थानीयहरूले कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालकै लापरबाहीले स्वास्थ्य प्रणाली बिग्रिएको आरोप लगाएका छन्। तनाव बढेपछि ताला खोल्न इलाका प्रहरी कार्यालय कटहरियाको प्राङ्गणमा स्वास्थ्य संयोजक डाक्टर र स्थानीयहरूबिच छलफल जारी रहेको कार्यपालिका सदस्य मनोज कुमार जैसवालले जनाएका छन्।
प्रतिक्रिया