एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै भण्डारीले भनिन्: "अब पछि हट्दिनँ"

मंगलबार, ०६ साउन २०८२

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएको स्पष्ट घोषणा गरेकी छन् ।

आइतबार आफ्नै निवास भंगालमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्रको नेतृत्व बहस महाधिवेशन नआउँदै चलाइनु कार्यकर्तालाई विभाजन गर्ने षड्यन्त्र भएको आरोपसमेत लगाइन् ।

"अब म पछि हट्दिनँ," भण्डारीले दोहोर्‍याउँदै भनिन्, "कार्यकर्तालाई आतङ्कित पार्ने काम रोकिनुपर्छ ।" उनले जिल्ला र प्रदेश तहदेखि नै गुटबन्दी गरेर कार्यकर्ताको बोल्ने अधिकार खोस्ने प्रवृत्तिको आलोचना गरिन् ।

भण्डारीले आफूले पार्टी र महिला आन्दोलनको कठिन समयमा नेतृत्व सम्हालेको स्मरण गराउँदै अहिले अनावश्यक विवाद सिर्जना गरेर आफ्नो राजनीतिक पुनर्सक्रियतामाथि प्रश्न उठाइनु अनुचित भएको बताइन् ।

"दल चाहिँ अनैतिक अखडा हो त?" भण्डारीले प्रश्न गर्दै भनिन्, "उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि। अहिले जसरी कार्यकर्तालाई बोल्न नदिने र बोलेको कारण कारबाही गर्ने भनिएको छ, त्यो स्वीकार्य छैन ।"

उनले एमालेको साधारण सदस्यता नवीकरण भइसकेको जानकारी दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यसबारे कुराकानी भइसकेको खुलासा गरिन् । साथै, नयाँ वर्षको अवसरमा दिएको आफ्नो एक वक्तव्यपछि अध्यक्ष ओली चिढिएको पनि बताएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार