पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन नहुने एमाले खोटाङको निर्णय

सोमबार, ०९ भदौ २०८२

खोटाङ : नेकपा (एमाले) खोटाङ जिल्ला कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अब सक्रिय राजनीतिमा नफर्कनुपर्ने निर्णय गरेको छ।

आगामी भदौ २० देखि २२ गतेसम्म हुने एमालेको दोस्रो विधान महाधिवेशनलाई लक्षित गरेर केन्द्रीय कमिटीले पारित गरेको अन्तरपार्टी निर्देशन ‘अपानी–१२’ लाई समर्थन गर्दै यस्तो निर्णय गरिएको हो।

यसअन्तर्गत भदौ ५, ६ र ७ गते पालिका स्तरमा र भदौ ८ गते जिल्ला स्तरमा सुझाव सङ्कलन कार्यक्रम तथा सचिवालय बैठक सम्पन्न भएको थियो।

विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा अधिकांश नेता तथा कार्यकर्ताले राष्ट्रपति पद नेपालको गणतान्त्रिक व्यवस्थाको प्रतीक भएकाले पूर्वराष्ट्रपति भण्डारीले दलीय राजनीतिमा पुनः फर्किनु उचित नहुने धारणा राखेका थिए।

दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमाले खोटाङ अध्यक्ष देवविक्रम राईले केन्द्रीय निर्देशनलाई उपयुक्त ठहर गर्दै सो निर्णय सर्वसम्मत रूपमा पारित गरिएको जानकारी दिए।

विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भइरहेको ‘आक्रमण र घेराबन्दी’लाई निस्तेज गर्न नेता तथा कार्यकर्ताले एकजुट भएर नेतृत्वको रक्षा गर्नु दायित्व भएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार