झापा : झापा जिल्ला मेचीनगर नगरपालिका–९ दुर्गा मन्दिर नजिक भित्री सडक खण्डमा सोमबार साँझ अलकत्र (बिटुमेन) बोकेको ट्याङ्करमा भीषण आगलागी भएको छ ।
साँझ करिब ७:५० बजे कन्चन निर्माण सेवाले बाटो पिच गर्ने क्रममा प्रयोग भएको मे १ ख ३१३७ नं.को ट्याङ्करमा तातोका कारण अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरी, सर्वसाधारण र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा करिब ९:२० बजे आगो नियन्त्रणमा लिइएको थियो ।
घटनामा ट्याङ्कर चालक सिन्धुलीका ४२ वर्षीय गणेश दाहाल सकुशल रहेका छन् भने, सोही निर्माण सेवामा कार्यरत सिरहाका ३१ वर्षीय उमेश कुमार राय आगो निभाउने क्रममा घाइते भएका छन् ।
उनको अनुहार, हात र खुट्टा पोलिएको छ । उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।
अलकत्र बोकेको ट्याङ्कर पूर्णरूपमा जलेको छ भने अन्य क्षतिको विवरण खुल्न बाँकी छ ।
प्रतिक्रिया