कोशी : हिन्दू नारीहरूको महान् पर्व हरितालिका अर्थात् तीज पर्व देशभर मनाइएको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरेका छन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा विवाहित महिलालाई पारिवारिक सुख, शान्ति र कल्याण मिल्ने र अविवाहित युवतीले सुयोग्य वर पाउने धार्मिक विश्वास रहिआएको छ ।
तीज पर्वको अवसरमा मंगलबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा महिलाको घुइँचो लागेको क्यामेरामा कैद गरिएको छ ।
कोशी प्रदेशका मोरङ र सुनसरी लगायतका जिल्लाका विभिन्न स्थानमा भएका तीज विशेष कार्यक्रममा कैद गरेका तस्बिरहरू यहाँ प्रस्तुत गरिएका छन् ।
यसैबिच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त समेत गरेका छन् ।
तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यो पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकका रूपमा लिनुपर्ने उल्लेख गरे ।
उनले तीज पर्वले नेपाली संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउन योगदान गर्ने बताउँदै आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत बनाउन सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया