आजको राशिफल बि.सं. २०८२ कार्तिक ८ गते शनिवार ई.सं. २०२५ अक्टोबर २५

शनिबार, ०८ कार्तिक २०८२

आजको राशिफल बि.सं. २०८२ कार्तिक ८ गते शनिवार ई.सं. २०२५ अक्टोबर २५ नेपाल सम्बत ११४६ कछलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष चतुर्थी, चन्द्रमा बृश्विक राशिमा,  अनुराधा नक्षत्र, सौभाग्य योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ६: १० बजे र सूर्यास्त साँझ ५ बजेर २७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा बृश्विक राशिको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ०७ बजेर १४ मिनेट देखि ०९ बजेर २८ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, इत्यादिमा पनि अन्तर हुनेछ ।

आज छठ पर्वको मुख्य विधिअन्तर्गत पहिलो दिन नहाय–खाय गरिन्छ ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

वातावरण तपाईँको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठिक हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईँलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झन्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेर मात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झन्झटमा पर्न सकिन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

मनोरञ्जन, रमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । मूलतः मनोरञ्जन र मस्तीमा केन्द्रित भइने छ । कार्यक्षेत्रमा पनि राम्रै लगनशीलता देखिने छ । सबैको प्रशंसा बटुलेर मन फुरुङ्ग हुने दिन हो । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

घमण्ड र क्रोधमा वृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेवारीका बिच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्‍याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । आफूलाई अरूभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घर व्यवहारमा आफूलाई संयमित ढङ्गले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

बुद्धि कौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन सङ्गीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । महत्त्वपूर्ण कामलाई स्थगित नगर्नु होला, बरु अतिरिक्त समय वा कामदारको व्यवस्थापन गरी थालेको काम पूरा गर्नु ठिक हुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधुप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नै पर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा विलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधुप गर्नुपर्ने दिन हो । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगी साथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्त्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

पार्टनरको इच्छाअनुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेर मात्र सम्पर्क गर्नु ठिक हुन्छ । रुचिको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने दिन हो, थप धनार्जन गर्ने विषयमा चिन्ता गर्न सक्नुहुन्छ, साझेदारीमा आधारित व्यापारबाट राम्रो लाभ हुनेछ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र कर कुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्न सक्छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुख सुविधा, अचल सम्पत्ति र वाहन सुखका बारेमा समेत ध्यान केन्द्रित हुनसक्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्न सक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आनन्द प्राप्तिका लागि एक अर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एक आपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

भाइबहिनी वा छोराछोरीसँग सम्बन्ध÷सम्पर्क बढ्नाले मन प्रसन्न रहने छ, कुनै प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफल भइने छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकी बक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । सबै कार्य सही ढङ्गले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

पेसागत स्थितिमा सुधार गर्नु छ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकार सम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेवारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईँको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकुन् । अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेवारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार