आजको राशिफल : आज  बि.सं. २०८२ कार्तिक ७ गते शुक्रबार ई.सं. २०२५ अक्टोबर २४

शुक्रबार, ०७ कार्तिक २०८२

आज  बि.सं. २०८२ कार्तिक ७ गते शुक्रबार ई.सं. २०२५ अक्टोबर २४ नेपाल सम्बत ११४६ कछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष तृतीया, चन्द्रमा बृश्विक राशिमा,  अनुराधा नक्षत्र, सौभाग्य योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६: ०९ बजे र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा बृश्विक राशिको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ८ बजेर १० मिनेट देखि ९ बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, इत्यादिमा पनि अन्तर हुनेछ । आज पनि तिहारको बिदा रहेको छ । त्यस्तै आज संयुक्त राष्ट्रसङ्घ दिवस र विश्व विकास सूचना दिवस परेको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 

व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । मन भोगविलास र रमझमप्रति आकर्षित बन्न सक्छ, घरपरिवारमा सम्पर्क हुने र पतिपत्नी वा प्रेमी प्रेमिकाका बिचमा भलाकुसारी हुने वा निकटता बढ्ने समय हो । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेवारीका लागि समय छुटाउनु पर्ने हुन्छ ।  

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । खर्चको मात्रामा अचानक वृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरूका कुरामा नभुलिनु होला । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्न सक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगी साथी र सहयोगीले तपाईँको काममा सहयोग गर्नेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईँको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । आपसी सम्बन्धमा नयाँ मिठास देखा पर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्ध बृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठिक हुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । 

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

एक आपसमा समन्वयको कमी छ भने सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । साथीभाइसँगको मनुमुटावका कारण मन उदासीन बन्ने दिन हो, गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लगाउनु बेस हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । आफ्नो खुबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । राम रमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । पेसागत र व्यावसायिक परिस्थिति सामान्य रहनेछ, तर स्वास्थ्यस्थितमा केही उतारचढाव देखिनाले अथवा कुनै विवाद वा झैझगडामा रुमल्लिनाले चिन्ता बढ्न सक्छ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगी साथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा दिलचस्पी जाग्न सक्छ, आन्तरिक प्रतिभाको प्रदर्शन गरी प्रशंसा बटुल्न सकिने छ । सानो प्रयत्नले हैसियतमा वृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बिचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा विलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूर दराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेम सम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्न सक्ने दिन हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगी साथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हितको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्न सक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

आम्दानीको मार्ग बढ्नेछन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ, तर रिस्कमा काम नगर्नु होला । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्न सक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइती पक्षसँग सम्बन्ध-सम्पर्क गर्ने दिन हो ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार