काठमाडौं : सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा उखु बेचेका किसानलाई अनुदान भुक्तानीका लागि ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको छ ।
कृषि मन्त्रालयको प्रस्तावअनुसार अर्थ मन्त्रालयले ८ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत उक्त रकम किसानलाई भुक्तानी गर्ने गरी निकासा गरेको हो । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार रकम बिहीबारसम्म किसानको खातामा पुग्नेछ ।
किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान माग गर्दै आन्दोलन गरिरहेका छन् । तर सरकारले मन्त्रिपरिषद्को गत २२ असारको निर्णयअनुसार प्रतिक्विन्टल ३५ रुपैयाँका दरले मात्र अनुदान दिने गरी रकम निकासा गरेको हो ।
गत आव कुल २ करोड १६ लाख क्विन्टल उखु क्रसिङ भएको सरकारी तथ्यांक छ । त्यसको आधारमा किसानलाई ७५ करोड ४९ लाख रुपैयाँ भुक्तानी हुने देखिएको हो । तर किसानले भने १ अर्ब ५१ करोड २० लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेका छन् ।
प्रतिक्रिया