विराटनगर : मोरङको धनपालथान गाउँपालिका–५ मा आफ्नै ७ वर्षीया भतिजीमाथि बलात्कारपछि हत्या गर्ने काका अनिष सरदारलाई जिल्ला अदालत मोरङले आजीवन कैदको सजाय सुनाएको छ।
२२ वर्षीय अनिष सरदारले गत असार १४ गते राति मदिरा सेवनपछि आफ्नी भतिजी आत्तिका सरदारलाई घरबाट बाहिर लगेर बलात्कार गरेका थिए । त्यसपछि घटनाको खुलासा हुने डरले उनलाई हत्या गरी शव दुर्गा आधारभूत विद्यालय नजिकैको बाटो छेउमा फालेका थिए ।
शव फेला परेपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दै अभियुक्त अनिषलाई नियन्त्रणमा लिएको थियो। अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार, अनिषले अदालतमा दोष स्वीकार गरेका थिए। यसै आधारमा सोमबार थुनछेक बहसकै दिन न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई आजीवन कैदको फैसला सुनाएको हो।
साथै अदालतले अनिषलाई ७ लाख रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति मृतकका नजिकका नातेदारलाई तिर्ने आदेश पनि दिएको छ। जरिवाना रकम पीडित राहत कोषमा जम्मा गरिने छ।
प्रहरी अनुसन्धान अनुसार, अनिषले रातको समयमा आफ्नी नाबालिका भतिजीलाई बलात्कार गरेपछि हत्या गरी शव लुकाउन विद्यालयनजिकै फालेका थिए।
यो पनि :
प्रतिक्रिया