विराटनगर : मोरङको धनपालथान गाउँपालिका ५ बबियामा ७ वर्षीया बालिकाको रहस्यमय मृत्युले गाउँमा स्तब्धता र त्रास फैलिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि बलात्कारपछि हत्या गरिएको आशंको छ । यद्यपी पुष्टि भएको अबस्था छैन ।
मृतक बालिका आत्तिका सरदार आफ्ना दिदी र भाइसँगै काका अनिष सरदारसँग सुतेकी थिइन् । शनिबार बिहान करिब ५ बजे घरदेखि झण्डै १०० मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा उनको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको पोस्टमार्टमको नतिजा आउन बाँकी रहेको र थप नमुना परीक्षणका लागि पठाइएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित आशंकामा काका अनिष सरदारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । उनले घटनाका बेला मदिरा सेवन गरेको स्वीकार गरे पनि बलात्कार वा हत्या गरेको स्वीकार गरेका छैनन् ।
सन्तानलाई हजुरआमाको जिम्मा लगाएर काम विशेषले भारत गएका आमाबुबा घटना सुनेपछि घर फर्किरहेका छन् । आत्तिकाकी आफन्त अमृता चौधरीका अनुसार बालबालिका प्रायः हजुरआमासँग बस्ने गर्दथे ।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी नारायण चिमरिया स्वयं पुगेर निरीक्षण गरेका छन् । उनले घटनाको गम्भीर अनुसन्धान भइरहेको र मेडिकल रिपोर्ट र प्रमाणका आधारमा मात्रै निष्कर्ष निकालिने बताए ।
छिमेकी राज सरदारले घटनालाई भयानक र दर्दनाक भन्दै दोषीलाई कडा कारबाहीको माग गरे ।
बिहान करिब ३ बजे हजुरआमाले बालिका बेपत्ता भएको थाहा पाइन् । बच्चा चोरी भएको आशंकामा गाउँभर हल्ला भयो । खोजी गर्ने क्रममा घरदेखि करिब सय मिटर पर दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा शव भेटियो । प्रहरीले शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका गरेको हो ।
प्रतिक्रिया