विराटनगर : मोरङको धनपालथान गाउँपालिका–६ स्थित बबियामा एक ५ वर्षीया बालिकाको बीभत्स हत्या भएको घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालिकामाथि बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको प्रकृति हेर्दा यसलाई जघन्य अपराधको रूपमा लिइएको छ ।
शुक्रवार राति करिब ३ बजेको समयमा आत्तिका सरदार नामकी बालिका घरबाटै बेपत्ता भएकी थिइन् । परिवारसँगै सुतेकी उनी अचानक हराएपछि अभिभावक र आफन्तले बिहान ५ बजे कर्सिया प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए ।
बालिका बेपत्ता भएको केही समयमै घरबाट करिब सय मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालय नजिकको बाटो छेउमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
शव भेटिएको स्थानमै प्रहरीले घटनाको प्रारम्भिक मुचुल्का उठाएको छ ।
अनुसन्धानको प्रारम्भिक चरणमै बलात्कार पुष्टि हुने सङ्केत
घटनास्थलको प्रकृति, बालिकाको शरीरमा भेटिएका चोटपटक र अनुहार तथा घाँटीमा देखिएका नीलडामले बलात्कारपछि हत्या गरिएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरी स्रोत बताउँछ ।
यद्यपि,यो आशङ्का पुष्टि गर्न कोशी अस्पतालमा पोस्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी र जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको टोली खटिएको छ ।
अनुसन्धान तीव्र पारिएको र स्थानीयबाट पनि सहयोग लिइएको प्रहरीले जनाएको छ ।
बालिकाको बीभत्स हत्या पछि स्थानीय समुदायमा त्रास फैलिएको छ । गाउँलेहरूले दोषीको पहिचान गरी कडा कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया