नयाँ दिल्ली : भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको एक विमानको पुच्छरमा रहेको सहायक पावर युनिट (एपीयू) मा आगलागी भएको छ।
उडान ट्र्याकिङ वेबसाइट Flightradar24 का अनुसार, एयर इन्डियाको उडान एआई ३१५ मङ्गलवार दिउँसो १२:१२ बजे हङकङबाट दिल्ली अवतरण गरेको थियो। यात्रुहरू ओर्लन थालिसकेपछि विमानको एपीयूमा अचानक आगो लागेको बताइएको छ।
सहायक पावर युनिट विमानको पुच्छरमा हुने अत्यावश्यक उपकरण हो, जसले विमान पार्किङको बेला मुख्य इन्जिन बन्द हुँदा पनि विद्युत् आपूर्ति र एयर कन्डिसनिङजस्ता प्रणालीलाई सक्रिय राख्ने काम गर्छ।
घटनाका बेलामा एपीयू स्वतः बन्द भएको र आगलागी नियन्त्रणमा आएको एयर इन्डियाले जनाएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा विमानमा केही भौतिक क्षति भए पनि सबै यात्रु र चालक दलका सदस्य पूर्ण सुरक्षित रहेको उल्लेख गरिएको छ।
विमानलाई थप जाँचका लागि रोकिएको छ र नियामक निकायलाई औपचारिक जानकारी गराइएको छ। घटनाबारे विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एयर इन्डियाले जनाएको छ।
प्रतिक्रिया