धरान : धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले चुनावी प्रचार–प्रसारमा बालबालिका प्रयोग गरेको आरोपबारे निर्वाचन आयोगमा लिखित स्पष्टीकरण पेश गरेका छन्। केही दिनअघि बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरिएको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले साम्पाङसँग स्पष्टीकरण माग गरेको थियो।
सोही अनुरूप आयोगमा बुझाइएको स्पष्टीकरणमा साम्पाङले आफूले कुनै पनि अवस्थामा बालबालिकालाई चुनावी प्रचार–प्रसारमा प्रयोग नगरेको स्पष्ट पारेका छन्। उनले बालबालिका प्रयोग गरिएको भन्ने आरोप कल्पित, भ्रामक र दुःख दिने नियतले लगाइएको दाबी गरेका छन्। कुनै पनि मिति, समय वा स्थानमा श्रम संस्कृति पार्टीले बालबालिकालाई चुनावी प्रचारमा खटाउने निर्णय नगरेको र त्यस्तो कुनै निर्देशन नदिएको पनि स्पष्टीकरणमा उल्लेख गरिएको छ।
सार्वजनिक रूपमा आफ्ना तस्बिर छापिएका टी–सर्ट लगाएका केही बालबालिकाहरू देखिएको विषयमा साम्पाङले त्यसमा पार्टी वा चुनावी प्रचारको कुनै संलग्नता नरहेको बताएका छन्। उनले स्पष्टीकरणमा श्रमदान अभियानबाट प्रभावित भई विदेशमा रहेका सहयोगीहरूले आफ्नै इच्छाले बालबालिकालाई टी–सर्ट लगाइदिन सहयोग गरेको बताएका छन्।
साथै, उनले कुनै पनि अभिभावकलाई बालबालिकालाई प्रचारमा प्रयोग गर्न आग्रह, निर्देशन वा प्रलोभन नदिएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा सामग्री सबै यथार्थ नहुन सक्ने र प्रविधिको दुरुपयोगबाट भ्रम सिर्जना गरिएको दाबी पनि स्पष्टीकरणमा उल्लेख गरिएको छ।


प्रतिक्रिया