प्रधानमन्त्रीले राजनीतिक मर्यादा भुले : ओलीको अभिव्यक्तिप्रति किन भइरहेछ सर्वत्र आलोचना ?

मंगलबार, १३ जेठ २०८२

काठमाडौं : नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको विषयलाई लिएर सर्वत्र आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना गर्नेमा सत्तारूढ घटक नेपाली कांग्रेस, राप्रपालगायत, राजावादी र मानवअधिकार आयोगसमेत छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बाग्मती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षलाई निर्देशन गर्दै भनेका थिए, ‘जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ ।’ काठमाडौं कति घण्टा एमालेको नियन्त्रणमा हुनुपर्छ ओलीले समय पनि तोकिदिएका थिए । उनले भनेका थिए, ‘११ बजेदेखि २ बजेसम्म ।’

३ घण्टा काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न वडाध्यक्षहरूले के–के गर्नुपर्छ ती सबै तयारी गर्न पनि ओलीले निर्देशन दिएका थिए ।

‘१५ गतेका लागि यहाँबाट उठ्नेबित्तिकै तयारी थाल्नुस्, १५ गते के–के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, पछि निर्देशन आउँछ, तपाईंहरूले जे जस्तो गर्नुपर्छ तयारी हालतमा बस्नूस्,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि एमालेको युवा संगठन, पार्टीका कार्यकर्ताहरू १५ जेठको कार्यक्रमका लागि तयारी हालतमा बसिसकेका छन् । सो दिन एमालेको युवा संगठनले शक्ति प्रदर्शनसमेत गर्ने कार्यक्रम तय भइसकेको छ ।

अर्कोतर्फ, १५ जेठमा काठमाडौंमा राजसंस्था पक्षधरहरूले गणतन्त्र, संघीयताविरुद्ध आन्दोलनको घोषणा गरिसकेका छन् । राजसंस्था पक्षधरहरूको आन्दोलनलाई टक्कर दिनेगरी प्रधानमन्त्री ओलीले वडाध्यक्षहरूको भेलामा काठमाडौं कब्जा गर्न निर्देशन दिएका हुन् । उनको निर्देशन थियो, ‘आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौं, आन्दोलनमा हामी सबै त्यसअनुसार तयारीमा लागौं ।’

१५ जेठ गणतन्त्र दिवस हो । एमालेले सो दिवसका अवसरमा उत्सव कार्यक्रम मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले सो दिनका लागि दिएको अभिव्यक्तिको विषयलाई लिएर कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन् । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षणसमेत गराएका छन् ।

‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन, त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू आइन्दा नदोहोरियोस्,’ महामन्त्री थापाको आक्रोशमिश्रित चेतावनी थियो ।

यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा राखेको धारणालाई कांग्रेसले सामान्य रूपमा लिएको बताएका छन् ।

प्रमुख सचेतक घिमिरेले भने, ‘उहाँ ९प्रधानमन्त्री०ले गणतन्त्र दिवस मनाउने सन्दर्भमा भन्न खोज्नुभएको हो, गणतन्त्र दिवस मनाउनका लागि यति संख्यामा यहाँ जम्मा हुनुपर्छ, यहाँ एमालेबाहेक कोही पनि नदेखियोस् भन्नुभयो, एमाले नभनेको भए हुन्थ्यो, उहाँले नेपाली जनता, गणतन्त्रका पक्षधरबाहेक अरू कोही नदेखियोस् भन्नुभएको भए हुन्थ्यो, अलिकति बोल्ने क्रममा एमाले भन्ने शब्द प्रयोग गर्नुभयो, त्यस शब्दलाई गणतन्त्रवादी नेपाली जनता भन्नुभएको भए राम्रो हुन्थ्यो, कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य रूपमा लिएको छ ।’

यस्तै, नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभाबी बोल्दै हिँडेको टिप्पणी गरे । सोमबार पाँचथरको फिदिममा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले ओलीले आइतबार पार्टी बैठकमा काठमाडौं घेर्न भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,’ कोइरालाले भने, ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको आरोप थियो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री ओलीले दिएको आपत्तिजनक अभिव्यक्तिलाई लिएर विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन् ।

लिङ्देनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘देशको प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, हिंसा भड्काउने, उत्तेजक र आपत्तिजनक छ, म सम्पूर्ण नागरिक समाज, मानव अधिकारसम्बन्धी संघ, संस्था, आयोग र विश्व समुदायको ध्यानाकर्षण गर्दछु ।’

मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानवअधिकारका मूल्य मान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ ।

‘यस्तो परिस्थितिमा अरूको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको सो अभिव्यक्ति चिन्ताजनक छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरीत हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ छ ।’

शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध नगरेको आयोगले स्मरण गराएको छ । ‘जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरूप्रति लक्षित गरी मुठभेड निम्तिन सक्नेगरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानवअधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ,’ प्रधानमन्त्री ओलीलाई आयोगले भनेको छ ।

जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरू व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन पनि आयोगले आग्रह गरेको छ ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार