इटहरी : कोशी प्रदेशमा दूधको उत्पादन अत्यधिक मात्रामा भइरहे पनि बजारको चरम अभाव देखिएको छ । उत्पादित दूध खपत नहुँदा हजारौँ किसान सङ्कटमा परेका छन्।
डेरी व्यवसायीहरूले खुलेर स्वीकार नगरे पनि दैनिक लाखौँ लिटर दूध खेर गइरहेको यथार्थले किसानहरूलाई गम्भीर आर्थिक तथा मनोवैज्ञानिक चोट पुर्याएको छ। ‘मिल्क होलिडे’ अर्थात् दूध नबिक्ने समस्याका कारण किसानहरू मर्कामा परेका हुन् ।
प्रदेशका प्रमुख दुग्ध उत्पादक जिल्लाहरू सुनसरी, मोरङ, झापा, इलाम र धनकुटामा मात्रै अहिले दैनिक झन्डै ७ लाख लिटरभन्दा बढी दूध उत्पादन भइरहेको छ । तर, बजारमा खपत हुने औसत क्षमता केवल ५ लाख २५ हजार लिटरको मात्रै छ । त्यसो हुँदा करिब झन्डै डेढ लाख लिटर दूध दैनिक रूपमा खेर जाँदै छ।
इटहरी–३ का साना किसान बालकृष्ण विष्ट भन्छन्, ‘डेरीले हप्ता दिनदेखि दूध लैजान छाडेको छ । हामीजस्ता किसानले त उत्पादन गरेको दूध पोख्नै परेको छ ।’ दुहबीका प्रेमप्रसाद अधिकारीको पनि अवस्था उस्तै छ। उनी दैनिक १७ लिटर दूध उत्पादन गर्छन् । तर बिक्री नहुँदा त्यत्तिकै खेर गइरहेको अधिकारी सुनाए ।
डेरीहरूले उत्पादन र खपतबिचको असन्तुलन व्यवस्थापन गर्न दूध सङ्कलन कटौती गरेका छन् । थुप्रिएको दूधलाई प्रशोधन गरी पाउडर र बटर बनाउने काम तीव्र रूपमा भइरहेको छ।
नेपालकै तेस्रो ठुलो पाउडर प्लान्टका रूपमा रहेको इटहरी स्थित सगरमाथा डेरी विशिष्टीकृत सहकारी सङ्घ लिमिटेडमा हाल १ लाख ५० हजार किलोग्राम दूध पाउडर रहेको संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले बताए। प्लान्टमा अहिले २० भन्दा बढी डेरी उद्योगले पाउडरका लागि दूध ल्याउने गरेको उनको भनाइ छ ।
डेरी उद्योगहरूले मौजुद दूधलाई पाउडर (धुलो दूध) साथै बटर समेत बनाउने गरेका छन । बिशिष्टिकृतमै पाउडर दूधकै झैँ बटर समेत मौजुद रहेको व्यवस्थापक लुइँटेलको भनाइ छ । कहिले कम र कहिले बढी दूध प्रशोधनका लागि आउने गरेको लुइँटेल बताउँछन् ।
यद्यपि, पाउडर बनाउन प्रतिकिलो १ सय २७ रुपैयाँ लागत लाग्ने गरेको छ । लुइँटेलले कोशी प्रदेशमा 'मिल्क होलिडे' को सम्भावना नरहेको दाबी गरेका छन ।
कोशी प्रदेशमा कामधेनु, रीतिका, एनएमसी, जीवन विकास, शिवम्, गोरस, मदानी, बेलालगायत पूर्वी नेपालका दर्जनौँ डेरीहरूले व्यावसायिक रूपमा दूध तथा दुग्धजन्य पदार्थहरूको काम गर्दै आएका छन् ।
इटहरीमा रहेको कामधेनु डेरीले मात्रै पूर्वी नेपालका ६ जिल्लाबाट दैनिक २२ हजार लिटर दूध सङ्कलन गर्दै आएको छ। दैनिक २२ हजार लिटर दूध सङ्कलन गर्ने गरेको भए पनि बजारमा माग कम भएका कारण दैनिक ६ हजार लिटर दूध बिक्री गर्न नसकिएको बताइएको छ ।
यही कारण संस्थामा गत साउनयता ८० हजार किलो दूध पाउडर र ५० हजार किलो बटर गोदाममा थन्किएको संस्थाका का.मु व्यवस्थापक नवराज नेपालले बताए ।
यस्तै नेपाल डेरी एसोसिएसनका केन्द्रीय महासचिव हेमचन्द्र खनालका अनुसार कोशी प्रदेशमा दूध उत्पादन दैनिक ७ लाख लिटर पुगेको छ । खपत क्षमता मुस्किलले ५ लाख लिटरमा सीमित छ। खनाल भन्छन्, ‘सरकारद्वारा नस्ल सुधार कार्यक्रम, अनुकूल मौसम र कृषकहरूको सहभागिता बढेपछि उत्पादन अत्यधिक भएको हो।’
बजारमा ‘मिल्क होलिडे’ सुरु भएसँगै इटहरीस्थित सगरमाथा बिशिष्टिकृृत डेरीले दैनिक ६० हजार लिटर दूधको पाउडर उत्पादन गर्दै आएको जनाएको छ । यस्तै विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेजले ३० हजार लिटर, झापाका २ वटा डेरीहरूले १५ हजार लिटर दूध प्रशोधन गरिरहेका छन्। बजारमा दूध बिक्री नभएर ठोस पदार्थहरू (पाउडर र बटर) बनाउँदा डेरीहरूलाई पनि दैनिक लाखौँ रुपैयाँ घाटा हुने गरेको छ ।
प्रदेश सरकारको तथ्यांका अनुसार प्रतिव्यक्ति वार्षिक दूध उपलब्धता ९२ लिटर भए पनि खपत आवश्यकको मात्रा केवल ७१ लिटर मात्रै छ। यसले प्रदेशमा दूध उत्पादन मागभन्दा धेरै भएको स्पष्ट देखाउँछ।
कोशी प्रदेशमै रहेका केही डेरीहरूले कृषकहरूबाट उत्पादित दूध ल्याउने गरेको भए पनि 'मिल्क होलिडे' रहेको र बजारमा पैसाको अभाव भएको भन्दै कृषक भुक्तानी समेत बन्द गरेको कृषकहरू स्वयम बताउँछन् ।
यता उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका अधिकृत सातौँ तोया तिम्सिनाले कोशी प्रदेशमा "मिल्क होलिडे" गर्न नहुने कुरामा जोड दिए ।
उनले कोशी प्रदेशमा 'मिल्क होलिडे' नहोस् भनेर कृषि तथा सहकारी क्षेत्रकै लागि प्रदेश सरकारले करोडौँ लगानी गरेका कारण 'मिल्क होलिडे' नहुने दाबी गरे ।
किसानहरूको जीवनयापन पनि सङ्कटमा पर्ने अवस्था उत्पन्न भएको छ। दीर्घकालीन समाधानका लागि प्रदेश स्तरमा बजार विस्तार, उत्पादन र खपतको सन्तुलन मिलाउने नीति निर्माण तथा दूध प्रशोधन क्षमतामा लगानी अपरिहार्य देखिएको किसानहरू बताउँछन् ।
त्यसो त बग्रेल्ती सञ्चालनमा रहेको साइकल,मोटरसाइकल तथा गाडीहरूमै राखेर खुल्ला दूध डेरीको भन्दा सस्तो मूल्यमै बिक्री गर्नेहरूका कारण पनि डेरीहरूले बजार नपाएको स्थानीय बताउँछन् । यसरी गाउँ गाउँमा बिक्री गर्नेहरूले आधि पावा देखि जति पनि डेरीको भन्दा सस्तो मूल्यमा घरमै दूध दिने गरेका कारण पनि समस्या भएको उनीहरू बताउँछन् ।
यो समस्या तत्काल समाधान नगरिएमा किसानहरू ‘मिल्क होलिडे’को पीडाले थलिँदै जाने अवस्था छ । यही बेला सरकार, निजी क्षेत्र र सहकारी संस्थाबिच समन्वय आवश्यक देखिन्छ । कोशी प्रदेशको दुग्ध उत्पादन प्रणालीलाई सङ्कटमा नपार्न सबै पक्ष लाग्नुपर्ने सरोकारवाला बताउँछन् । यसरी बजार विस्तार नगरी उत्पादनमा मात्रै जोड दिँदा दुग्ध उद्योगमा ठुलो घाटा हुने खतरा बढेको छ।
प्रतिक्रिया