काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले आर्थिक वर्ष २०८२/८३ को बजेट व्यवसायमैत्री भएको प्रतिक्रिया दिएका छन्। बिहीवार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटप्रति प्रतिक्रिया दिँदै उनले यसले व्यवसायीका मुद्दाहरू सम्बोधन गर्ने प्रयास गरेको बताए।
सांसद चौधरीले विशेषगरी विदेशमा लगानी गर्न चाहने नेपालीहरूका लागि स्वेट सेयर (सीप र श्रमको आधारमा सेयर) लिन पाउने व्यवस्था स्वागतयोग्य रहेको जनाए। होटल व्यवसायमा विद्युत महसुलको समस्यालाई सम्बोधन गर्ने प्रयास, र सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै वातावरण निर्माण गर्ने नीति पनि सकारात्मक रहेको उनको धारणा छ।
उनले भने, “विदेशमा लगानी गर्न आफ्नो सिप र मेहेनतको आधारमा स्वेट सेयर लिन पाउने व्यवस्था बजेटले गरेको छ, जुन स्वागतयोग्य छ।
होटेल व्यवसायमा विद्युत महसुलको समस्या लामो समयदेखि थियो, यसलाई पनि सम्बोधन गरिएको छ। आईटी क्षेत्रमा काम गर्ने युवालाई नेपालमै काम गर्ने वातावरण बनाइने भएको छ, जुन सकारात्मक छ।”
चौधरीले बजेटले मुलुकको अर्थतन्त्र उकास्ने र पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने उल्लेख गर्दै समग्रमा बजेटले व्यवसायीका मुद्दामा सकारात्मक संकेत दिएको निष्कर्ष निकाले।
प्रतिक्रिया