काठमाडौँ :आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधन (ईभी)मा कुनै कर नबढाइएको घोषणा भएपछि यस क्षेत्रका व्यवसायीहरू उत्साहित देखिएका छन्।
अघिल्लो दिनसम्म ईभीमा कर बढ्ने आशङ्का व्यापक थियो, तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती हल्ला चिर्दै कर दर यथावत् राख्ने निर्णय गरे।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बजेटलाई सन्तुलित भने। उनले चार्जिङ मेसिन निर्माण गर्न चाहने उद्योगको हकमा सकारात्मक सङ्केत देखिएको बताए। श्रेष्ठका अनुसार कर यथावत् राखेर सरकारले स्थिरताको सन्देश दिएको छ।
स्काइवेल कम्पनीको गाडिको आधिकारिक बिक्रेता जि मोर्टस प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले कर स्थिर राख्नु व्यवसायीको आत्मविश्वास बढाउने निर्णय भएको बताए।
चार्जिङ पूर्वाधार विस्तारमा निजी क्षेत्र लगानी गर्न अग्रसर हुने उनले उल्लेख गरे । साथै, चार्जर एसेम्बल उद्योगका लागि ५ वर्षको आयकर छुट र कच्चा पदार्थमा १ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था सम्भावनायुक्त भएको उनको भनाइ छ। साथै उनले युवाहरूलाई रोजगारी सृजना नेपालमै बस्ने वातावरण बनाउन लागेको प्रति सरकारको प्रशंसा उनले गरे ।
नेपालमै गाडी एसेम्बल गर्दै आएको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बजेटलाई स्वागत गरे पनि एसेम्बल उद्योगलाई थप बलियो बनाउन चाहिएको विशेष सुविधा नपाएको गुनासो गरे।
नाडाका महासचिव सुरेशकुमार उप्रेतीले ईभीमा कर नबढ्नु र भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हल निर्माणको घोषणा हुनु नाडाको माग अनुसार भएको बताए।
समग्रमा, कर स्थिर राखिएको बजेटले विद्युतीय सवारी उद्योगमा स्थायित्व र दीर्घकालीन लगानीको वातावरण बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया