झापाको जलथलमा मासिँदै दुर्लभ जैविक सम्पदा

सोमबार, १९ जेठ २०८२

झापा : ‘रुखहरूको जीवित सङ्ग्रहालय’ भनेर चिनिने दक्षिण झापाको जलथल जङ्गलमा जैविक विविधता सङ्कटमा परेको छ। दुर्लभ वनस्पति र जीवजन्तुहरूको अस्तित्व लोप हुने अवस्थामा पुगेको अनुसन्धानहरूले देखाएका छन्।

हाल्दिबारी, भद्रपुर, कचनकबल र बाह्रदशी मिलाएर फैलिएको ६,१०० हेक्टर क्षेत्रफलको जलथल जङ्गलमा मुसे मृग, लटहर, थाकल, भोटे लहराजस्ता अद्वितीय प्रजातिहरू पाइन्छन्।

मुसे मृगजस्तो संसारकै सानो मृग यहाँ पाइए पनि पछिल्ला केही वर्षदेखि देखिएको छैन। डा.लीलानाथ शर्माका अनुसार, चोरी सिकारी, घरपालुवा कुकुरको आक्रमण र वासस्थान विनाशका कारण यो मृग लोप भइसकेको आशङ्का छ।

नेपालमा पाइने ६०० भन्दा बढी प्रजातिका रुखमध्ये १५५ प्रजाति जलथलमै पाइन्छन्। यसै कारण यो जङ्गललाई ‘रुखहरूको राजधानी’ पनि भनिन्छ। यहाँ २३५ प्रजातिका चराचुरुङ्गी, १५७ प्रजातिका पुतली, ४३ माछा, १४ भ्यागुता र ३२ सरीसृपसमेत भेटिएका छन्।

भोटे लहरा, थाकल, लटहर जस्ता वनस्पति डाइनोसर युगदेखि अस्तित्वमा रहेको मानिन्छ र यिनलाई विश्व संरक्षण सङ्घले सङ्कटापन्न सूचीमा राखेको छ। यिनमा मिचाहा झार माइकेनिया, चरन दबाब र अनियन्त्रित मानव अतिक्रमणबाट नयाँ बिरुवा हुर्किन सकेका छैनन्।

जलथलमा हालसम्म अभिलेख नभएका ६ प्रजातिका रुख र ३ प्रकारका साना वनस्पति पाइएको अनुसन्धानकर्ताको दाबी छ। तर, जङ्गल मासिँदा बाँदर झुला, ढेडु झुला, रामगुवा, कुसुम, वन सुन्तला, गान्टे, वन फर्सी जस्ता लोकल फलफूल समेत सङ्कटमा परेका छन्।

जङ्गलभित्र २२ वटा सामुदायिक वन छन्, तर ती वनमा टिक, रबर, मसला जस्ता गैर स्थानीय वनस्पति लगाउने क्रमले रैथाने जैविक सम्पदा झनै दबिएको छ। वन्यजन्तुको चोरी, वन व्यवस्थापनको कमजोरी र पर्यावरणीय चेतनाको अभावले जलथलको जैविक धरोहरहरू मासिँदै छन्।

जलथलको जैविक सम्पदा जोगाउन सशक्त संरक्षण, समुदायको सहभागिता र वैज्ञानिक वन व्यवस्थापन अपरिहार्य बन्दै गएको छ। यदि यथासमयमा उपाय अपनाइएन भने जलथलको जैविक सम्पदा एक दिन केवल किम्बदन्तीमा सीमित हुनेछ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार