विराटनगर । पहिचान पक्षधरको आन्दोलनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव २४ दिनदेखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छ । चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको चैत १० गते मृत्यु भएको थियो ।
पहिचान पक्षधरको आन्दोलनमा मृत्यु भएका लिम्बूलाई आन्दोलनरत पक्षको माग अनुसार सरकारले सहिद घोषणा गरेर परिवारलाई दश लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । तर उनको अन्तिम संस्कार अझै टुङ्गो लागेको छैन ।
पदमको अन्तिम संस्कारका लागि परिवारले पार्टीको निर्णय कुरिरहेको छ । ‘दाजुले पार्टीमा लागेर पहिचानको आन्दोलनमा बित्नु भयो, उहाँको सबै निर्णय पार्टीले नै गर्छ,’ बहिनी पवित्राले भनिन्,‘ हामीलाई धेरै जानकारी छैन, पार्टीका नेताले खबर गर्छौ भन्नु भएको छ ।’
मृतक परिवार र पहिचान पक्षधरको माग अनुसार संघिय सरकारले गत चैत २४ गते बसेको मन्त्रीपरिषद् बैठकले सहिद घोषणा गर्दै दश राख राहत उपलब्ध गराउने निर्णय गरेको थियो । सहिद घोषणा भएको पत्र मृतकको परिवार र पार्टी कार्यालयमा पुगिसकेको छ ।
संघिय लोकतान्त्रिक राष्ट्रीय मञ्चकी उपाध्यक्ष विष्णु तुम्बाहाम्फेले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूको अन्तिम संस्कारका बारेमा परिस्थीति हेरेर निर्णय गर्ने बताइन् । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग सम्बोधन र राज्यले सहिद घोषणाको प्रकृया पुरा गरेपछि अन्तिम संस्कार गर्ने बताइन् ।
‘हाम्रो मुख्य माग पहिचानका आधारमा नामाङ्कन हो,यसका लागि सबैलाई अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका छौ,’उनले भनिन्,‘ तत्काल अन्त्येष्टी नगर्ने कुरा छ । पहिचान पक्षधरको बैठक बसेर निर्णय गर्छौं ।’
गत फागुन १७ गते प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी राखेको थियो । भूगोलका आधारमा नाम कोशी राखेको भन्दै पहिभचान पक्षधर विभिन्न दल र जातिय संस्थाले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् ।
पहिचान पक्षधरले प्रदेशको नाम पहिचानका आधारमा लिम्बुवान किरात राख्नुपर्ने माग गरिरहेका छन् । आन्दोलनका कारण प्रदेशको नाम राखेपछि स्थगीत भएको प्रदेशसभाको हिउँदे अधिवेशन चैत २९ गते सरकारले अन्त्य गरेको थियो ।

युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
प्रतिक्रिया