विराटनगर / महँगो मध्येको लागूऔषधभित्र पर्ने ब्राउन सुगर (खैरो हेरोइन)सहित मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकबाट प्रहरीले सोमाबार राति ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी–३ का १९ वर्षीय विश्वास धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्का रहेका छन् । विश्वास धिमालको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
तीनै जनालाई राति ११ः३० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेकाको साथबाट २१ ग्राम ब्राउन सुगर बरामद भएको उनको भनाइ छ । पोखरेलका अनुसार तीनै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरु लागूऔषधका कारोबारी रहेको खुलेको छ ।
प्रतिक्रिया