इटहरी : नेपालमा तराईको भू–भागलाई सडक सञ्जालमा समेट्ने उद्देश्यसहित निर्माण हुँदै आएको पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पहिलो खण्डको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। जसले सर्वसाधारणको विकासको सपनालाई साकार बनाउँदै छ ।
यो नेपालको तराईको ग्रामीण क्षेत्रका लागि मात्रै नभएर समग्र देशकै महत्त्वाकाङ्क्षी तथा रणनीतिक महत्त्व बोकेको राष्ट्रिय गौरवको आयोजना हो। यस परियोजनाको पहिलो खण्ड झापाको भद्रपुरस्थित मेची पुलदेखि सप्तरी जिल्लाको बहान पुलसम्म फैलिएको छ।
यस खण्डको कुल लम्बाइ लिङ्क रोडसहित ३७० किलोमिटर रहेको छ। सन् २०११ अर्थात् विक्रम संवत् २०६८ सालमा सुरु गरिएको यस आयोजना प्रारम्भमा १० अर्ब ७५ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको थियो।
सुरुवातमा १० वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको भए पनि विभिन्न अवरोधका कारण समय सीमा पटक–पटक सारिँदै आएको छ। म्याद थप गर्दै निर्माण अवधि २०८३–०८४ सालको अन्त्यसम्म लम्ब्याइएको छ ।
हुलाकी राजमार्ग निर्माण आयोजना निर्देशनालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासका अनुसार पहिलो खण्डमा पूर्व–पश्चिम दिशातर्फ २०५ किलोमिटर सडक निर्माण भइरहेको छ भने १६४ किलोमिटर लिङ्क रोड, अर्थात् उत्तर–दक्षिण जोड्ने सडकहरू निर्माणाधीन अवस्थामा रहेका छन्।
मोरङ जिल्लाको पथरीशनिश्चरे हुँदै रङ्गेली नगरपालिकासम्म १८ किलोमिटर खण्डमा निर्माण कार्य जारी छ । रतुवा पुल आसपास ६ किलोमिटर खण्ड, इनरुवा–देवानगञ्ज खण्डमा ३० किलोमिटर सडकका साथै सप्तरी जिल्लाका केही क्षेत्रमा समेत सडक निर्माण भइरहेको जानकारी दासले दिए ।
यस खण्डमा ४१ वटा साना–ठुला पुलहरू निर्माण गर्ने योजना छ । तीमध्ये हालसम्म २२ वटा पुल निर्माण भइसकेका छन् । १८ वटा पुल निर्माणाधीन छन् । केहीमा निर्माण कार्य सुरु भइसकेको छ भने केहीमा आवश्यक पूर्व तयारी भइरहेको दासले बताए । उनका अनुसार पुल निर्माणसँगै सम्पूर्ण सडक खण्ड कालोपत्रे गरिने छ । यसले यातायातलाई दिगो र सहज बनाउने अपेक्षा गरिएको छ।
तर, निर्माण कार्य समयमै सम्पन्न हुन नसक्नुका पछाडि विविध कारणहरू देखिएका छन् । प्राविधिक, प्रशासनिक र आर्थिक जटिलताले आयोजना प्रभावित भएको स्पष्ट देखिन्छ। ठेक्का सम्झौता अनुसार काम समयमा नसकिनु, निर्माण सामग्रीको मूल्य बढ्नु, ठेकेदारले काम अवरुद्ध गर्नु र सरकारतर्फबाट समयमा भुक्तानी नहुनुजस्ता समस्याले कामको गतिलाई मन्द बनाएको छ ।
यस्तै, प्रत्येक आर्थिक वर्षको सुरुवातसँगै नयाँ योजना थपिँदै जानुले समेत कामको बोझ बढाएको छ । विविध समस्याका कारण मूल निर्माण लक्ष्य प्रभावित हुँदै गएको बताइन्छ ।
पूर्व–पश्चिम हुलाकी राजमार्गले नेपालको तराई भू–भागका ग्रामीण भेगहरूलाई मुख्यतया यातायात सञ्जालसँग जोड्ने छ। यसले कृषकहरूले उत्पादन गरेका अन्न, तरकारी, फलफूललाई सजिलै बजारसम्म पुर्याउने छ। साथै, रोजगारी सिर्जना, पर्यटन प्रवर्धन, सामाजिक सेवामा सहज पहुँच र समग्रमा जनजीवनको स्तरमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।
यो सडक केवल यातायातको संरचना मात्रै नभएर तराई क्षेत्रको सामाजिक–आर्थिक कायापलट गर्ने एउटा वृहत् परियोजना भएको सरोकारवाला बताउँछन् । यसले ग्रामीण भेगका बासिन्दाहरूलाई विकासको मूलधारमा जोड्नेछ।
सर्वसाधारणको विकासको सपनालाई साकार बनाउने यो परियोजना पारदर्शी, जबाफदेही र समयमै सम्पन्न हुनेगरी अघि बढाउनुपर्ने आवाज सरोकारवालाले उठाएका छन् । उनीहरूले ठेकेदारलाई जिम्मेवार र जबाफदेही बनाउने, समयमै बजेट सुनिश्चित गर्ने तथा प्राविधिक स्रोतहरू प्रभावकारी रूपमा परिचालन गर्न सक्नुपर्ने बताए ।
महत्त्वाकाङ्क्षी आयोजनाहरू समयमै निर्माण सम्पन्न हुँदा सर्वसाधारणको विकासको सपना साकार हुने उनीहरूको भनाइ छ । नत्र आयोजना निर्माण सम्पन्न गर्ने समय लम्बिने खतरा रहन्छ। सरोकारवालाहरू योजना कार्यान्वयनको निगरानी प्रणालीलाई सशक्त बनाउनुपर्ने, ठेकेदार कम्पनीलाई समयअनुसारको कार्य सम्पादनमा बाध्य पार्नुपर्ने, ठेकेदारको भुक्तानी समयमै गर्नुपर्ने र सरकार तथा सम्बन्धित निकायहरूले स्पष्ट दायित्व लिएर सहज ढङ्गले काम अघि बढाउने वातावरण तयार पार्नुपर्ने बताउँछन् ।
योजना प्रभावकारी रूपमा कार्यान्वयन भएर पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्माण सम्पन्न भएमा तराईको समग्र विकास ऐतिहासिक मोडमा पुग्ने अपेक्षा गरिएको छ । हुलाकी सडकको काम सम्पन्न भएपछि ग्रामीण बस्तीहरू समृद्धिका यात्रामा अग्रसर हुनेछन् ।
तराईको अनुहार नयाँ स्वरूपमा देखिने अपेक्षा छ । समयमै प्रभावकारी ढङ्गले काम सम्पन्न हुँदा सरकार र जनताबिचको दूरी कम गर्दै विकासको यात्रालाई सुनिश्चित बनाउने सरोकारवाला बताउँछन् ।
प्रतिक्रिया