काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक आज अपराह्न २ बजेदेखि बस्दैछ ।जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् । पछिल्ला दिनमा सत्ता पक्ष र विपक्षी दलहरूबिच भएका छलफलमा संसद्को अवरोध खुलाउने विषयमा सहमति नजिक पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध खुलाउने विषयमा सहमतिको भाषा टुङ्गाउने चरणमा रहेको आइतबार प्रतिक्रिया दिएका थिए । प्रचण्डले संसद् खोल्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिवार छलफल गरेका थिए । विपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामाको अडानबाट पछि हटेको उनीहरूका पछिल्ला अभिव्यक्तिहरूले स्पष्ट गरेको छ ।
अब संसद्को अवरोध हटाउने विषयमा 'सेफ ल्यान्डिङ' का लागि भाषा मिलाएर सहमति गरिने तयारी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो अडानमा कायम रहेपनि माओवादी केन्द्र र एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हटिसकेका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग त गरिरहेका छन् तर भिजिट भिसा प्रकरण हाल अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन नहुने सत्ता पक्षको अडानमा उनीहरू लगभग सहमत भएको बुझिएको छ ।माओवादी केन्द्र र एकीकृत समाजवादी पछि हटेपछि रास्वपा पनि आज सहमतिमा आउने सत्ता पक्षको बुझाई छ । आइतबार नै सहमति हुने भनिएको भए पनि रास्वपाले समय मागेपछि आजसम्मको समय दिइएको बुझिएको छ।
आज १२ बजे सत्ता पक्ष र विपक्षी दलहरूले छलफल गरेर सहमतिको खाका तयार गर्ने र आज तोकिएको २ बजेदेखि नै संसद् सुचारु हुने बताइएको छ ।विपक्षी दलहरूको मागलाई सम्बोधन गर्न उनीहरूले उठाएको भिजिट भिसा प्रकरणमा २०६४ देखिकै छानबिन गर्न अख्तियारलाई आग्रह गर्ने आशयको बुँदा समेटेर सहमति हुन सक्ने सत्ता पक्षका एक सांसदले एभरेष्ट न्यूज एजेन्सीसँग बताए । सभामुख देवराज घिमिरेले समेत आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र विपक्षी दलहरूबिच सहमति हुने सङ्केत आफूले पाएको बताउँदै सहमतिका लागि समय दिन सोमबार २ बजेसम्मका लागि बैठक स्थगित गरेको बताएका थिए ।
प्रतिक्रिया