पाँचथर : श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका–४ बाट एक युवा पक्राउ परेका छन्। बैवाहिक बलात्कारसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय पाँचथरले २७ वर्षीय श्रीमानलाई नियन्त्रणमा लिएको हो।
२३ वर्षीया पीडित महिलाले आफ्नै श्रीमानले जबरजस्ती करणी गर्दै आएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी कौशल बुढाथोकीले जानकारी दिए। पीडित र आरोपी श्रीमान फिदिम–४ मा डेरामा बस्दै आएका थिए। उनीहरूकी अढाई वर्षीया छोरी पनि छिन्।
पीडित महिलाका अनुसार उनका श्रीमान मादक पदार्थ सेवन गर्ने, बारम्बार झगडा गर्ने, कुटपिट गर्ने तथा सहमति विना यौन सम्पर्क राख्ने गर्थे। पटक–पटक चेतावनी दिँदा पनि अवस्था नबदलिएको भन्दै अन्ततः उनले प्रहरी लिएकी हुन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार बैवाहिक बलात्कारको प्रमाणित भएमा दोषीलाई पाँच वर्षसम्म कैद सजायको व्यवस्था छ।
प्रतिक्रिया