२१ वर्षिया युवतीको ब्राभित्र कन्डम, कन्डमभित्र कोकिनको झोल

शुक्रबार, २३ साउन २०८२

काठमाडौं : ब्राजिलियन नागरिक इमिली मकाइले सान्तोष फरेरा साउन २१ गते ब्राजिलबाट दुबईलाई ट्रान्जिट बनाएर नेपाल आइपुगिन्। नेपालमा पछिल्लो समय भित्रिने कोकिन ब्राजिलहुँदै आउने भएकाले प्राय यो रुटबाट आउने यात्रुहरू प्रहरीको निगरानीमा पर्ने गरेका छन्। प्रहरीले यात्रुहरूको लिस्ट हेरेर नजर राख्नुपर्ने यात्रुको सूची बनाउँदा उनी पनि परिन्।

२१ वर्षकी उनी प्रहरीको वाचलिस्टमा पर्नुको कारण उनी ब्राजिलबाट दुबईहुँदै नेपाल आउनु मात्र थिएन। अर्को कारण थियो नेपाल बसाई केवल तीन घण्टामात्र। नेपाल आएको तीन घण्टामै उनी भुटान जाँदै थिइन्। तीन घण्टाका लागि मात्र नेपाल आएकी भए पनि उनले होटेल बुक गरेकी थिइन्।

उनी विमानस्थलबाट उत्रिएर अध्यागमनमा आएपछि नै त्रिभुवन विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण ब्युरोको प्रहरीले उनलाई निगरानीमा राख्यो। प्रारम्भमा उनको लगेज हेरियो। तर केही भेटिएन। उनको ह्यान्डक्यारीमा पनि शङ्कास्पद केही भेटिएन।

तर प्रहरीले सहजै उनी त्यतिकै नेपाललाई ट्रान्जिट बनाएर आएको पत्याएन। शङ्का जारी थियो। अनि महिला प्रहरीलाई बोलाएर जब उनको शरीरको तलासी गरियो उनी नेपाल आए लगत्तै भुटान जानुको कारण खुलिहाल्यो।

प्रहरीले उनको ब्राभित्र झोलले भरिएको १० वटा कन्डम फेला पार्यो। जब प्रहरीले उनको कालो ब्राबाट झोल भरिएको कन्डम निकाल्यो तब उनी आत्तिइसकेकी थिइन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर झोलको परीक्षण गराउँदा त्यो कोकिन निस्कियो।

ब्युरोका एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार १० वटा कन्डममा फेला परेको झोलको तौल १ केजी ९ सय ५० ग्राम निस्किएको छ। झोलको रूपमा रहेको कोकिन बाहिर निकालेर सुकाएपछि त्यो पाउडर बन्ने उनले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार