धरान : धरान–१३ स्थित अमर बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुषतर्फ संयोग बस्नेत र सगुन कार्कीको जोडीले मेन्स डबल ‘बी’ लेभलको उपाधि जितेको छ। फाइनल खेलमा उनीहरूले हिमाल श्रेष्ठ र सुशील श्रेष्ठलाई सोझो सेटमा २१–९ र २१–१६ ले पराजित गर्दै उपाधि चुमेका हुन्। विजेतालाई नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरियो भने उपविजेता जोडीले २७ हजार रुपैयाँ प्राप्त गरे।
महिला मिक्स डबल ‘बी’ लेभलमा भने अनमोल राई र गीता राईको जोडीले उपाधि जितेको छ। फाइनल खेलमा उनीहरूले सन्दीप राई र मनिषा तामाङलाई १६–२१, २१–१७ र २१–११ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे। विजेतालाई ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेतालाई १८ हजार रुपैयाँ पुरस्कार दिइयो।
धरान नगरपालिका स्तरीय ‘सी’ लेभलमा आशिष राई र मनिल राईको जोडीले उपाधि जितेका छन्। उनीहरूले १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाए। उपविजेता जीवन कन्दङवा र कर्णदल लिम्बुलाई १० हजार रुपैयाँ दिइयो भने तेस्रो स्थानमा रहेका राम लिम्बु–जीवन लिम्बु र सकुल गुरुङ–कुमारले ३–३ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संयोजक मनि चाम्लिङ राई र टङ्क लिम्बुले पुरस्कार वितरण गरेका थिए। प्रदेशभरका १९१ टिम सहभागी भएका यस प्रतियोगितामा राष्ट्रिय खेलाडी विशाल तामाङ, विनय चौधरी, भोजबहादुर गुरुङ र महेश खडकाले पनि मैत्रीपूर्ण प्रदर्शन गरे। साथै, मोरङका शारीरिक अशक्त खेलाडी हेम गुरुङलाई खेलप्रतिको समर्पणका लागि सम्मान स्वरूप नगद ५ हजार रुपैयाँ दिइएको थियो।
प्रतिक्रिया